तारेभिर जंगलमा मृत भेटिएकी सुष्माको हत्या आरोपमा युवक पक्राउ
बुढानीलकण्ठ मावि कक्षा १२ मा अध्ययनरत १८ वर्षीया सुष्मा तारेभिरकै स्थानीय हुन्। गत माघ २२ गते पढ्न जान्छु भन्दै हिँडेकी उनी सोही दिनदेखि सम्पर्कविहीन थिइन्।-1710664596.jpg)
काठमाडौं, चैत ४ : नौ दिनअघि (फागुन २५ गते) काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका युवक २१ वर्षीय रुपेन्द्र लामालाई प्रहरीले सार्वजनिक गरेको छ। रूपेन्द्र सुषमाकै छिमेकी रहेकाे प्रहरीकाे भनाइ छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज (आइतबार) सुस्माको हत्या आरोपमा गोकर्णेश्वर–३ तारेभिर बस्ने लामालाई सार्वजनिक गरेको हो।
बुढानीलकण्ठ मावि कक्षा १२ मा अध्ययनरत १८ वर्षीया सुष्मा तारेभिरकै स्थानीय हुन्। गत माघ २२ गते पढ्न जान्छु भन्दै हिँडेकी उनी सोही दिनदेखि सम्पर्कविहीन थिइन्।
सुष्माको खोजीका लागि परिवारले बौद्ध प्रहरीमा निवेदन दिएका थिए। फागुन २५ गते प्रहरीले गोकर्णेश्वर–३ तारेभिरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा सुष्माको शव फेला पारेको थियो। शव डोरीले बाँधेको अवस्थामा फेला परेको थियो।
प्रहरीले उनको हत्या भएको हुन सक्ने आशंका अनुसन्धान सुरु गरेको थियो। प्रेमका कारण सुष्माको हत्या गरिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेका अनुसार पक्राउ परेका लामाले युवतीलाई एकतर्फी मन पराएको र पटक पटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलेको हाे।
अपराधपछि घटना लुकाउन रूपेन्द्रले प्रविधिको समेत गलत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिबाट खाल्डो खन्न प्रयोग गरेको कुटो र उनको कोठाबाट मृतकको मोबाइल र किताबकापी पनि बरामद गरेको छ।












