Kathmandu Press

आर्मीलाई टी–२० कपको उपाधि

आज भएको फाइनलमा आर्मीले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरी उपाधि हात पारेको हो।
आर्मीलाई टी–२० कपको उपाधि

विराटनगर, चैत ३ : कोशी प्रदेश टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ। आज भएको फाइनलमा आर्मीले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरी उपाधि हात पारेको हो।

टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा अलआउट हुँदै आर्मीसामु ११० रनको लक्ष्य प्रस्तुत गरेको थियो। आर्मीले १२ दशमलव २ बल फालेर एक विकेटको क्षतिमा उक्त लक्ष्य पूरा गरेको थियो।

जितका लागि ३ रन आवश्यक हुँदा इमरान शेखको चौकाको मद्दतले आर्मीले ११२ रन बनाउँदै प्रतियोगिता जितेको हो। आर्मीका त्रितराज दासले ३३ बलमा २ छक्का र ५ चौकासहित अर्ध शतक बनाए भने इमरान शेखले दुई छक्कासहित ३८ को योगदान दिए। आर्मीका सन्तोष कार्की दिनेश अधिकारीको बलमा क्याच आउट भएका थिए।

कर्णाली प्रदेश टिमका विपिन रावलले सर्वाधिक २७ रन जोडे। कप्तान रविन्द्र शाही र मनिष थापाले २१–२१ रनको योगदान गरे भने दिनेश अधिकारीले १२ रन बनाए। यस्तै, दिपेन्द्र रावत ६, अर्जुन घर्ती ४, हिमांशु शाही २, युनिश ठकुरी र अनुज चनारा १–१ रनमात्रै बनाए। दिवान पुनले नटआउट ५ रन खेलेका थिए।

आर्मीका त्रितराज दास, शहाब आलम, सुमित श्रेष्ठ र बसिर अहमदले समान २–२ विकेट लिएका थिए। पवन कार्कीले १ विकेट लिए। प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गरेका छन्।

मोरङ क्रिकेट संघको आयोजनामा चैत २२ गते सुरु भएको प्रतियोगितामा तीन विभागीय र ७ वटा प्रदेशका टिमले सहभागिता जनाएका थिए।
 

प्रकाशित मिति: १६:५२ बजे, शनिबार, चैत ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्