राष्ट्रियसभाअन्तर्गत दुई विषयगत समिति सभापति निर्विरोध निर्वाचित

काठमाडाैं, चैत ३ : राष्ट्रियसभाअन्तर्गत दुइवटा विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।
दुई समितिको सभापतिका लागि शनिबार उम्मेद्वारी दर्ता भएको थियो। सो क्रममा एकल उम्मेदवारी परेको हो। राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ। उनको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी रहेको छ भने समर्थकमा इन्दीरा देवी गौतम र दुर्गा गुरुङ प्रस्तावक रहेका छन्।
त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मात्रै उम्मेदवारी परेको छ। उनको प्रस्तावकमा नारायण दत्त भट्ट र समर्थकमा शारदा देवी भट्ट रहेको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए।
आइतबार दुवै समितिको बैठकले एक मात्रै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा हुने उनले बताए। राष्ट्रियसभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत ४ गतेका लागि तोकिएको थियो।












