कफी क्लब ललितपुरद्वारा निरिशा अधिकारीलाई ५० हजार राशिको छात्रवृत्ति
क्लबकी कोषाध्यक्ष यमुना बुढाले एक कार्यक्रमबीच निरिशालाई चेकमार्फत उक्त रकम हस्तान्तरण गरेकी हुन्।
ललितपुर, चैत २ : कफी क्लब ललितपुरले त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागमा सनातकोत्तरमा अध्ययनरत छात्रा निरिशा अधिकारीलाई शैक्षिक शोधपत्र सम्पन्न गर्न ५० हजार रुपैयाँ छात्रवृत्ति दिने निर्णयअनुरूप पहिलो किस्ताबापत २० हजार रुपैयाँ प्रदान गरेको छ।
क्लबकी कोषाध्यक्ष यमुना बुढाले एक कार्यक्रमबीच निरिशालाई चेकमार्फत उक्त रकम हस्तान्तरण गरेकी हुन्। क्लबका कार्यवाहक अध्यक्ष कृष्ण मगर, सचिव सुरेश राई, कोषध्यक्ष बुढा, त्रिविका प्रिन्सिपल ध्यानेन्द्र राई तथा प्रा.डा. उमेशकुमार मण्डलले छात्रवृत्तिका लागि निरिशालाई छनोट गरेका थिए।

छात्रवृत्तिका लागि व्यक्ति छनोट तथा रकम वितरण प्रक्रियाका लागि क्लबले छात्रवृत्ति कार्यविधि २०७९ बनाएको थियो। सोही कार्यविधिअनुसार कमजोर कमजोर आर्थिक अवस्था भए पनि नियमित रूपमा स्नातकोत्तर चौथो सेमेस्टरमा अध्ययनरत जेहेनदार विद्यार्थीका रूपमा निरिशा छनोटमा परेपछि आव २०८०/८१ को छात्रवृत्ति प्रदान गरिएको क्लबका सचिव राईले बताए। बाँकी ३० हजार रकम शाेधपत्र सम्पन्न भएपछि प्रदान गरिने उनले जानकारी दिए।
कार्यवाहक अध्यक्ष मगरका अनुसार २०७४ सालमा स्थापना भएको कफी क्लबले विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ। विभिन्न तवरबाट समाजमा योगदान पुर्याउनु क्लबको उद्देश्य रहेको उनको भनाइ छ। क्लबले समाजमा रहेका विविध समस्या तथा समसामयिक विषयहरुमाथी छलफल, बहस तथा अन्तक्र्रिया गर्दै आइरहेको छ। साथै क्लबले साहित्यिक गोष्ठी, सेमिनार, विचार गोष्ठी, विभिन्न किसिमका तालिम तथा च्यारिटी कार्यक्रमहरु समेत गर्दै आएको छ।

क्लबले आर्थिक तथा सामाजिक रूपमा विपन्न विद्यार्थीहरुलाई आर्थिक तथा समन्वयात्मक सहयोग समेत गर्दै आइरहेको र यसैक्रममा आधारभूत तहदेखि स्नात्तकोत्तर तहसम्म अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विधार्थीलाई छात्रवृत्ति दिनेव्यवस्था यसै वर्षदेखि गर्न थालेको कार्यवाहक अध्यक्ष मगरले बताए।












-1755255383.jpg)