रौतहटमा एक व्यवसायीमाथि गोली प्रहार
शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको प्रहरीले जनाएको छ।
काठमाडौं, चैत २ : रौतहटमा एक व्यवसायीमाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ।
परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले गोली चलाउने समूहका तीन जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाका साथबाट प्रहरीले एक थान पेस्तोल र गोली बरामद गरेको छ।
गोली लागी घाइते साहलाई उपचारका लागि वीरगन्ज लगिएको छ। उनको टाउकोमा गोली लागेको प्रहरीले जनाएकाे छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीकाे भनाइ छ।
साहमाथि गोली प्रहार गर्ने भारत मोतिहारीका मुनिशकुमार यादव, राजनकुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ।
भारतीय नम्बरको मोटरसाइकलमा आएका ती तीनजनालाई गोली प्रहार गरेर भाग्न लाग्दा स्थानीयले नियन्त्रणमा लिएका थिए।
प्रकाशित मिति: १४:३० बजे, शुक्रबार, चैत २, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












