विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्न सुझाव
एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकमाथि सदनमा छलफल गर्नुको कुनै औचित्य नभएको जिकिर गरे।
काठमाडाैं, चैत १ : नेकपा एमालेले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पुनर्लेखन गर्न सुझाव दिएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारका तर्फबाट प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले समाजवाद र समृद्धिको बाटो पहिल्याउन नसक्ने खालको भएकाले पुनर्लेखन गर्न सुझाव दिएका हुन्।
उनले विनियोजन विधेयकमाथि सदनमा छलफल गर्नुको कुनै औचित्य नै नभएको जिकिर गरे। यसअघिको सत्ता गठबन्धनका तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त प्राथमिकता पेस गरेकामा हाल नयाँ अर्थमन्त्री नियुक्त भएको स्थितिमा पनि यसलाई तदअनुरुप बनाउनुपर्ने उनको भनाइ छ। त्यस्तै उनले अर्थतन्त्रका सूचकहरू पनि सही रूपमा नआएको भन्दै लक्ष्यको आधाभन्दा कम आर्थिक वृद्धि हुने स्थिति हुँदा अर्थतन्त्र सुधारमा छ भनिएकोमा असन्तुष्टि व्यक्त गरे।
त्यस्तै कांग्रेस सांसद प्रदीप पौडेलले विनियोजन विधेयकमा पुरानै धरातलको निरन्तरता भएको बताए। उनले विश्व विकास परिवेशलाई मध्यनगर गरेर बजेट आउनुपर्नेमा जोड दिए। गएको बजेटमा संघीय रुपमा बजेट सबै स्थानमा पुग्न नसकेको अवस्थामा अहिलेको बजेटमा यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।
त्यस्तै माओवादी केन्द्रका सांसद एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायमा आधारित समाजवाद निर्माणको आधार तय हुने गरी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई संशोधन गर्न आग्रह गरेका छन् । उनले सरकार पुनःगठन भएको अवस्थामा उठेका विषय र अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन आग्रह गरे।
त्यस्तै रास्वपाका सांसद डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर विकासको स्पष्ट प्राथमिकता निर्धारण गर्न आग्रह गरे। उनले उक्त प्रस्तावमा प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको भन्र्द दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने माग गरे।












