Kathmandu Press

मृत्युपछि अंगदान गर्न स्वास्थ्यमन्त्री यादवको सुझाव

विश्व मिर्गौला दिवसका अवसरमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतले आज गरेको प्रभातफेरि कार्यक्रममा उनले मरेर जाने शरीरका अंग अरुलाई काम लाग्यो भने यसले जीवन बचाउन सक्ने बताए।
मृत्युपछि अंगदान गर्न स्वास्थ्यमन्त्री यादवको सुझाव

काठमाडौँ, चैत १ : उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अंगदान गर्न सबैलाई सुझाव दिएका छन्। विश्व मिर्गौला दिवसका अवसरमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतले आज गरेको प्रभातफेरि कार्यक्रममा उनले मरेर जाने शरीरका अंग अरुलाई काम लाग्यो भने यसले जीवन बचाउन सक्ने बताए।

उपप्रधानमन्त्री यादवले आफूले पनि यसअघि नै अंगदान गरिसकेको उल्लेख गर्दै अंगदानले जीवनलाई सार्थक बनाउने र यस्तो पुण्य काममा लाग्न सबैलाई आग्रह गरे। 'मरेर जाने अंग अरुलाई दान गर्दा केही बिग्रँदैन,' उनले भने, 'मृत मस्तिष्क (ब्रेनडेथ) भएको अवस्थामा निकालिएको अंगले धेरैको जीवन बचाउन सक्छ ।' मिर्गौला दानबारे जनचेतना जगाउनुपर्नेमा कुरामा समेत उपप्रधानमन्त्री यादवले जोड दिए। 

Hardik ivf

रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप, सहिदगेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेर समापन गरिएको थियो । प्रभातफेरिमा अंगदाता, अंग प्रत्यारोपित, चिकित्सकलगायतको सहभागिता रहेको थियो ।

यसैबीच दिवसकै अवसरमा आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । अंग प्रत्यारोपितको समूह र चिकित्सक, स्वास्थ्यकर्मीको समूहबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको हो । सो खेलमा अंग प्रत्यारोपितको समूह ४–१ गोलअन्तरले विजयी भयो । 

आज विश्वसहित नेपालमा ‘मिर्गौला उपचारमा सबैको समान पहुँच र सुरक्षित चिकित्सकीय अभ्यास’ भन्ने मूल नाराका साथ विश्व मिर्गौला दिवस मनाइँदैछ। मिर्गौला मधुमेह, मोटोपन, खानपानमा असन्तुलन, उच्च रक्तचाप, मुटुरोगका कारणले खराब हुने गर्दछ । विश्वमा कुल जनसङ्ख्याको १० प्रतिशत नागरिक मिर्गौला रोगबाट पीडित रहेको तथ्याङ्क छ।

प्रकाशित मिति: १५:५१ बजे, बिहीबार, चैत १, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्