मुगु प्राविधि कार्यालयका इन्जिनियरसहित साजनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारले मुगुको सोरु गाउँपालिका–९ साबिक कालै गाउँपालिका २, ३ र ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसिसी सिँचाइ कुलो निर्माणका लागि आर्थिक वर्ष २०७२/७३ मा उपलब्ध गराइएको रकम हिनामिना गरेको आरोप उनीहरुविरुद्ध लगाएको छ।
काठमाडौं, चैत १ : जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन जिल्ला इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेसहित सात जनाविरुद्ध विहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले मुगुको सोरु गाउँपालिका–९ साबिक कालै गाउँपालिका २, ३ र ४ स्थित सिड्डिखोलादेखि फुक्यालसम्मको आरसिसी सिँचाइ कुलो निर्माणका लागि आर्थिक वर्ष २०७२/७३ मा उपलब्ध गराइएको रकम हिनामिना गरेको आरोप उनीहरुविरुद्ध लगाएको छ। अख्तियारले जनाए अनुसार सिँचाइ कुलो निर्माणमा प्रमुख पाण्डेले भुक्तानी गरेको रकमबाट सिड्डीखोला सिँचाइ आयोजनामा नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणको १४ लाख १७ हजार नौ सय ३५ रुपियाँ बराबरको कार्य सम्पन्न नगरी हानिनोक्सानी पुर्याएको अनुसन्धानबाट खुलेको छ।
उनीहरुविरुद्ध भ्रष्टाचार बापतको रकम बिगो कायम गर्दै कैद, जरिवाना र जेल सजायको माग गरिएको छ। यस्तै, तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका इन्जिनियर महेश सिंह कठायतविरुद्ध १२ लाख ३६ हजार नौ सय एक रुपियाँ भ्रष्टाचार गरेको आरोपपत्र समेत दायर भएको छ।
कठायतले नापी किताब, कार्य सम्पन्न प्रतिवेदन अनुसार प्रथम, द्वितीय र तृतीय बिलबाट आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा जम्मा १२ लाख ३६ हजार नौ सय एक रुपैयाँ बराबरको नभएको कामलाई पनि भएको भुट्टा बिल भरपाई भुक्तानी दिएको दाबी अख्तियारको छ। कठायतलाई उक्त रकम बिगो कायम गरी कैद, जरिवाना, बिगो समेत असुलउपर हुन माग गरिएको छ।
यस्तै, तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका असिस्टेन्ट सवइन्जिनियर सर्जन शाहीविरुद्ध १० लाख ४५ हजार ६ सय ९४ रुपियाँ भ्रष्टाचा गरेको अभियेगमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियारले विज्ञप्तिमा उल्लेख गरे अनुसार शाहीले तयार गरेको द्वितीय र तृतीय बिल अनुसार फिल्डमा आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा १० लाख ४५ हजार ६९४ रुपियाँ बराबरको नभएको कामलाई भएको भनी झुट्टा बिल भरपाई बनाई भुक्तानी दिई भ्रष्टाचार गरेको दाबी छ। शाहीलाई सो रकम बराबरको बिगो कायम गरी कैद र जरिवाना एवम् बिगो समेत असुलउपर हुन मागदाबी लिइएको छ।
तत्कालीन जिल्ला प्राविधिक कार्यालय मुगुका सबइन्जिनियर भीमबहादुर रोकायाविरुद्ध पनि एक लाख ९१ हजार २०६ रुपियाँ भ्रष्टाचारको दाबीसहित अर्को मुद्दा दायर भएको छ। अख्तियारका अनुसार रोकायाले प्रथम रनिङ्ग बिलअनुसार फिल्डमा आरसिसी सिँचाइ कुलो र पाइपलाइन निर्माणमा एक लाख ९१ हजार दुइ सय ६ रुपियाँ बराबरको नभएको कामलाई भएको भनी झुट्टा बिल भरपाई बनाई भुक्तानी दिई भ्रष्टाचार गरेको आरोप छ। उनलाई भ्रष्टाचार निबारण ऐन, २०५९ बमोजिम भ्रष्टाचारको रकम बिगो कायम गरी कैद, जरिवाना र बिगोसमेत असुलउपर हुन माग गरिएको छ।
यस्तै, मुगुको सिड्डीखोला फुकलछडा जल उपभोक्ता समितिका अध्यक्ष दिपादेवी शाही, सचिव पूर्णबहादुर शाही र कोषाध्यक्ष फुल्टउरा शाहीविरुद्ध पनि १४ लाख १७ हजार नौ सय ३५ रुपियाँ भ्रष्टाचार गरेको आरोपसहित कारबाहीका लागि मुद्दा दायर गरिएको छ। उनीहरुले तत्कालीन जिल्ला प्राविधिक कार्यालय, मुगुले गरेको सम्झौता र सो अनुसारको इस्टिमेट बमोजिमको काम नगरी स्थलगत नापजाँच र प्राविधिक प्रतिवेदन अनुसार मूल्याङ्कन हुँदा यथार्थ कार्य मूल्याङ्कन भन्दा बढी रकम भुक्तानी लिई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।












