ज्ञानेन्द्र शाहीको प्रश्न– नेपालमा सरकार छ कि छैन्?
‘गोरखाबाट प्रधानमन्त्री र परराष्ट्र दुवै हुनुहुन्छ। आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले यो देशका जनताको उद्धार गर्छ भनेर कसरी विश्वास गर्ने,’ सांसद शाहीले भने।
काठमाडौं, चैत १ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपालमा सरकार छ कि छैन् भन्दै प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग उद्धारको लागि माग गरेको भन्दै यो देशमा सरकार होइन् कुर्सी मात्र भएको बताए।
‘यसो हेरेँ सरकार त छ, तर सरकार छ कि छैन् । छ भने रसियामा अलपत्र परेका पाँच जना नेपालीले छिमेकी राष्ट्र भारतसँग हामीलाई उद्धार गर्नुपर्यो भनेर मागिरहनु भएको छ भारतसँग भने के नेपालमा सरकार छ,’ उनले भने, ‘कुर्सी छ कहिले वारी कहिले पारी त्यति छ।’
उनले रसियामा गोरखाका नागरिक पनि अलपत्र रहेको भन्दै आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले जनताको उद्धार गर्ने विश्वास नभएको बताए।
‘गोरखाबाट प्रधानमन्त्री र परराष्ट्र दुवै हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रको नागरिकको उद्धार गर्न नसक्ने प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले यो देशका जनताको उद्धार गर्छ भनेर कसरी विश्वास गर्ने,’ सांसद शाहीले भने।












