सुन तस्करीबारे छानविन प्रतिवेदन आयोगले गृहमन्त्रीलाई बुझायो
पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षमा बनेको जाँचबुझ आयोगले बिहीबार बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई छानविन प्रतिवेदन बुझाएको हो।
काठमाडौं, चैत १ : सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षमा बनेको जाँचबुझ आयोगले बिहीबार बिहान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई छानविन प्रतिवेदन बुझाएको हो।
विमानस्थलको भन्सार जाँच पार गरेको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागेपछि सरकारले सत्यतथ्य छानविन गर्न आयोग बनाएको थियो।
आयोगमा किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य थिए।
करिब ५ महिनाको छानबिनपछि आयोगले बनाएको प्रतिवेदन ४८५ पृष्ठ, १३ अनुच्छेद र ९ अनुसूची रहेको छ । ९ वटा भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारिएको आयोगले जनाएको छ।
आयोगले केही व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिससमेत गरेको छ। विभागीय कारबाही, सीडीआर/डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली प्रतिवेदनमा समेटिएको छ।
प्रतिवेद बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझावको कार्यान्वयन गरिने प्रतिबद्धता जनाए । दोषीलाई कारबाही र सुधारका लागि सुझाइएका उपायको कार्यान्वयन गरिने पनि उनको भनाइ छ।












