‘दलाल र विचौलियालाई निरुत्साहित गर्नुपर्छ’ : गृहसचिव अर्याल
गृहसचिव अर्यालले माथि दलालहरुमा आफू अनुकूलको नीति बनाउन र त्यो लागू गराउन खोज्ने प्रवृत्ति रहेको, अनि तल बिचौलियाले काम गराइदिन्छु भनेर पैसा लिएर कर्मचारीलाई प्रभावमा पार्ने प्रवृत्ति रहेको भन्दै यसलाई निरुत्साहित गर्नुपर्ने बताए ।
काठमाडौँ, चैत १ : नवनियुक्त गृहसचिव एकनारायण अर्यालले गृह मन्त्रालय र गृह प्रशासन कमजोर भयो भने मुलुकको समग्र शासन कमजोर हुने बताएका छन् । पदवहालीसँगै मन्त्रालय अन्तर्गतका कर्मचारीहरुलाई बुधबार निर्देशन दिँदै गृह सचिव अर्यालले गभर्नेन्सलाई ड्राइभ गर्ने प्रमुख निकाय नै गृह प्रशासन भएको बताए ।
गृहसचिव अर्यालले माथि दलालहरुमा आफू अनुकूलको नीति बनाउन र त्यो लागू गराउन खोज्ने प्रवृत्ति रहेको, अनि तल बिचौलियाले काम गराइदिन्छु भनेर पैसा लिएर कर्मचारीलाई प्रभावमा पार्ने प्रवृत्ति रहेको भन्दै यसलाई निरुत्साहित गर्नुपर्ने बताए ।
गभर्नेन्सलाई ड्राइभ गर्ने प्रमुख निकाय गृह प्रशासन भएको बताउँदै सचिव अर्यालले गृह मन्त्रालय र गृह प्रशासन कमजोर भयो भने मुलुकको समग्र शासन व्यवस्था नै कमजोर हुने बताए । ‘कसैले काम गर्न सकेन भने गृह मन्त्रालय छ भन्ने गरिन्छ,’ गृह सचिव अर्यालले भने, ‘र नतोकिएको काम गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीले गर्नुपर्ने हुन्छ ।’ गृह प्रशासनमा धेरै चुनौती रहेको तर सामुहिक प्रयासबाट त्यो सामना गर्न अहिलेको टिम सक्षम भएको उनको उनको भनाइ थियो ।
सार्क सम्मेलन, संविधान घोषणा, भूकम्प, नाकाबन्दी लगायत विषम परिस्थितिको अनुभवले पनि अहिले काम गर्न सकिने र नागरिकले महसुस हुने गरी सरकारको उपस्थिति देखाउन काममा लाग्नुपर्ने सचिव अर्यालले बताए । उनले गृह अन्तर्गतका कुनै पनि अधिकारीलाई कुनै पनि समस्याबाट पन्छिने छुट नभएको बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानलगायत विभिन्न निकायहरु रहेको बताउँदै गाउँ गाउँसम्म रहेको उपस्थितीलाई गर्विलो बताउनु पर्ने सचिव अर्यालको भनाई छ । ‘गाउँगाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति छ’ उनले भने ‘यसको अर्थ सरकारको उपस्थिति त्यहाँ छ । यो उपस्थितिलाई प्रभावकारी ढंगको बनाउनुपर्ने छ ।’
गृह सचिव अर्यालले स्रोतसाधनहरुको अभाव रहेको भन्दै त्यसको परिपूर्तिका लागि आफूले आफ्नो भूमिका निर्वाह गर्ने प्रतिवद्धतासमेत जनाएका छन् । ‘प्रहरी र सशस्त्र प्रहरीलाई बस्ने ठाउँ छैन । प्रहरीहरु दुःखका साथ बसिरहेका छन्’ सचिव अर्यालले भने ‘ट्राफिक प्रहरीहरु मोटिभेट भएर ड्युटी गर्न सकिरहेका छैन । उनीहरुलाई हामीले मोटिभेट गर्न सकिरहेका छैनौँ । क्षमता विकास गर्न सकिरहेका छैनौँ ।’
सुरक्षा निकायमा लगानी गर्नुुपर्नेबारे उपप्रधान एवं गृहमन्त्रीसँग आफूले कुरा राखिसकेको बताउँदै गृह सचिव अर्यालले रेभिन्यू उठाउनेतर्फ पनि गृह प्रशासन सक्रिय भूमिका निर्वाह गर्ने बताए । ‘सुरक्षा निकायमा लगानी गर्नु पर्छ, त्यसको लागि रेभिन्यु उठाउने, रिसोर्स बढाउने काम हाम्रो भयो’ सचिव अर्यालले भने ‘त्यो बमोजिमको सुरक्षा निकायमा लगानी गर्ने कुरा पोल्टिकल लेभलमा हजुरले गर्नु पर्यो भनेको छु ।’












