मरिसकेका व्यक्तिको नामबाट वृद्धभत्ता लिने वडाध्यक्षमाथि मुद्दा
शारदा नगरपालिका वडा नम्बर– ३ मा मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण भइरहेको भन्दै अख्तियारमा परेको उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको तथ्य भेटिएको थियो।
काठमाडौं, फागुन ३० : मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता बुझेको आरोपसहित सल्यानको शारदा नगरपालिका वडा नम्बर– ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
थापामाथि भ्रष्टाचारको आरोपमा सजायको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो। शारदा नगरपालिका वडा नम्बर– ३ मा मृत्यु भइसकेको मानिसको नाममा वृद्धभत्ता वितरण भइरहेको भन्दै अख्तियारमा परेको उजुरीमा अनुसन्धान गर्दा भ्रष्टाचार भएको तथ्य भेटिएको थियो।
वडाध्यक्ष थापाले अस्तित्वमा नभएका व्यक्तिको नामको ५१ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता बुझेको तथ्य भेटिएको छ। थापाले आमा नाता उल्लेख गरेर वृद्धभत्ता बुझेको अख्तियारको दाबी छ।
थापाले आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता र आर्थिक वर्ष २०७६÷७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार रुपैयाँ बुझेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।












