‘हाम्रो ध्यान पदमा होइन, गठबन्धन कसरी बलियो बनाउन सकिन्छ भन्नेमा छ’
वर्तमान सरकारले नै मुलुकमा देखिएको समस्याहरु हल गर्ने दाबी गर्दै भट्टराईले अहिले नै गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको कुरा नभएको र एमालेले प्रधानमन्त्री पाउनका लागि कुनै दाबी नगरेको जिकिर गरे।
काठमाडौं, फागुन ३० : नेकपा एमालेका नेता योगेश भट्टराईले अब अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताएका छन्।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले संसदको वर्तमान कार्यकाल रहेसम्म अहिलेको सरकार कायम रहने भन्दै अर्को कुनै सरकार बनाउने प्रयास नहुने बताए।
नेता भट्टराईले वर्तमान सरकारको निर्णायक शक्तिको रुपमा रहेको एमालेले प्रधानमन्त्रीलाई समर्थन गरेको बताए। सरकारलाई आउने चार वर्षसम्म सहज रुपमा चल्न दिने दायित्व एमालेको भएको धारणा उनको थियो।
वर्तमान सरकारले नै मुलुकमा देखिएको समस्याहरु हल गर्ने दाबी गर्दै भट्टराईले अहिले नै गठबन्धनभित्र आलोपालो प्रधानमन्त्रीको कुरा नभएको र एमालेले प्रधानमन्त्री पाउनका लागि कुनै दाबी नगरेको जिकिर गरे।
५–१५ महिना प्रधानमन्त्री पदको बाँडफाँट गर्ने सहमति पनि नभएको उनले उल्लेख गरे। धेरै कुरामा त्याग गरेर नयाँ समीकरण बनेको भन्दै पद भन्दा पनि समीकरणलाई बलियो बनाउन ध्यान केन्द्रीत गर्ने बताए।