फरक–फरक विचारले पार्टी र परिवार कुनै असर गर्दैन : नाउप अध्यक्ष श्रेष्ठ
पार्टीभित्रको बहसले परिवारमा कुनै असर नपर्ने समेत बताउँदै उनले संस्थापक रेशम चौधरीले फेसबुकमा स्ट्याटस लेख्दा आफु पनि सँगै रहेको जिकिर गरिन्।
काठमाडौं, फागुन ३० : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले फरक–फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने बताएकी छिन्।
बुधबार संसदमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले पार्टीभित्र फरक फरक विचार हुनु स्वभाविक भएको भन्दै यसले पार्टीलाई कुनै असर नगर्ने बताइकी हुन्।
पार्टीभित्रको बहसले परिवारमा कुनै असर नपर्ने समेत बताउँदै उनले संस्थापक रेशम चौधरीले फेसबुकमा स्ट्याटस लेख्दा आफु पनि सँगै रहेको जिकिर गरिन्।
‘हिजो हाम्रोबीचमा छलफल भएको थियो । म र रेशमजीले पार्टीगत रुपमा बसेर छलफल गरेका थियौं । त्यही अनुसार उहाँले लेख्नुभएको हो’ रञ्जिताले भनिन् ।
उनले निर्वाचन आयोगले पार्टी अध्यक्षमा रेशम चौधरीलाई अमान्य भन्दै गरेको निर्णयलाई पनि स्वीकार गरिसकेको बताइन्। अध्यक्ष श्रेष्ठले आफ्नो पार्टी परिवारको नभई जनताको पार्टी भएको उल्लेख गरिन् ।












