प्रधानमन्त्रीमाथिको विश्वास निरन्तर खस्किँदै
२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि २०७९ पुस १० मा एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरूले विश्वासको मत दिएका थिए ।
काठमाडौं, फागुन ३० : प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबार प्रतिनिधिसभामा उपस्थित २६८ सांसद मध्ये १५७ जनाले विश्वासको मत दिए । उपस्थित सांसद मध्ये ११० जनाले विपक्षमा मत दिए।
प्रधानमन्त्रीलाई मत दिन्नँ भन्ने पक्षमा एक जना सांसद उभिए। प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा नेपाली कांग्रेस, राप्रपा, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा रहेका छन्।
२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि २०७९ पुस १० मा एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरूले विश्वासको मत दिएका थिए । प्रचण्डले पहिलोपल्ट प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए।
जतिबेला कांग्रेसलेसमेत विश्वासको मत दिएको थियो। पहिलोपल्ट प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदले पक्षमा मतदान गरेका थिए।
२०७९ फागुनमा एमालेसँगको गठबन्धन तोडेर दाहालले कांग्रेससँग गठबन्धन गरेका थिए। कांग्रेससँगको गठवन्धनपछि प्रचण्डले २०७९ साल चैत ६ गते प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत लिएका थिए्।
त्यसबखत प्रचण्डको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायत पक्षमा थिए।
त्यतिबेला प्रतिनिधि सभामा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले पक्षमा मतदान गरेका थिए । विपक्षमा ८९ सांसदले मत दिएका थिए । पछिल्लो समय गत फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोड्दै प्रधानमन्त्रीले पुनः विश्वासको मत लिएका छन्।












