प्रधानमन्त्री प्रचण्डले आज संसदबाट विश्वासको मत लिने
प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोड्दै नेकपा (एमाले) लगायत दलसित सहकार्य गरेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
काठमाडौं, फागुन ३० : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदै छन् । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिनेछन् ।
सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले सदनबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोड्दै नेकपा (एमाले) लगायत दलसित सहकार्य गरेपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
कुल २७५ सदस्यीय संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १३८ मतको चाहिन्छ । एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेका छन् । अहिले एमालेसँग ७६, माओवादीसँग ३२, रास्वपासँग २१, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० गरी प्रचण्डलाई विश्वासको मत दिने पक्षमा नाउपाबाहेक १५१ मत छ ।
यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेससँग ८७ मत छ । राप्रपासँग १४, जनमतपासँग ६, लोसपासँग ४, नेमकिपासँग र राष्ट्रिय जनमोर्चासँग एक÷एक सांसद छन् भने स्वतन्त्र तीन सांसद छन् ।












