Kathmandu Press

नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहाल को हुन् ?

माओवादी जनयुद्धलाई सफल बनाउन सक्रिय भएका र ठुलो योगदान पुर्‍याएका योद्धा दाहाल पार्टीका कामका लागि प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहेका थिए।
नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष दाहाल को हुन् ?

काठमाडौं, फागुन २९ : राष्ट्रियसभा अध्यक्षका लागि भएको निर्वाचनमा मंगलबार नारायण दाहाल निर्वाचित भएका छन्। राष्ट्रियसभा बैठकमा अध्यक्षका लागि भएको मतदानमा बाट उनी ३९ मतसहित निर्वाचित भएका हुन्। 

सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेका दाहाल नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत हुन्। उनी २०७८ चैत २९ गते राष्ट्रियसभा सदस्यमा मनोनीत भएका थिए। कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा जन्मिएका दाहाल २०१२ चैत १६ गते जन्मिएका थिए।  उनको चितवनको भरतपुर महानगरपालिका–१४, भीमसेननगर स्थायी बसोबास छ। २०३२ सालदेखि राजनीतिक दलमा आबद्ध दाहालले औद्योगिक संकायमा स्नातक गरेका छन्। 

Hardik ivf

माओवादी जनयुद्धलाई सफल बनाउन सक्रिय भएका र ठुलो योगदान पुर्‍याएका योद्धा दाहाल पार्टीका कामका लागि प्रवासमा अनेकौँ पीडा, कष्ट र हण्डर सहेका थिए। नेपाली 'जनयुद्ध'लाई राजनीतिक, वैचारिक, साङ्गठनिक काममा सक्रिय हुँदै आर्थिक र भौतिक साधन स्रोत जुटाएर सफल बनाउन दाहालले अतुलनीय योगदान पुर्‍याएका थिए। 

२०१९ उनी सात वर्षको हुँदा नै परिवार चितवन बसाइँसराइ गरेको थियो। शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय हुनुभएको थियो।  उनी बाल्यकालमै  कम्युनिष्ट पार्टीप्रति आस्थावान् बनेका थिए। कम्युनिष्ट पार्टी सत्तामा आएपछि सबै नागरिक बराबर हुन्छन् र कसैप्रति विभेद हुँदैन भन्ने चेतनाले आफूलाई कम्युनिष्ट पार्टीप्रति आकर्षित गरेको उनले सार्वजनिक रुपमा बताएका थिए। 

माध्यमिक विद्यालय पढ्दै अनेरास्ववियुमा आबद्ध दाहालले २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा अध्ययन गर्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिए।  तीन सदस्यीय स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बने। २०३६ सालमा स्नातक तह उत्तीर्ण गरेपछि एरिया पार्टी कमिटीको कोषाध्यक्ष चयन भए। सो कमिटीमा एक वर्ष काम गर्नुभएका दाहाललाई मोहनविक्रम सिंहको सल्लाहअनुसार नै पूर्णकालीन सदस्य भई भारत प्रवासको जिम्मेवारीमा काम गर्न पुग्नुभएको थियो । 

माओवादीभित्र ‘सरल’ नामले चिनिने उनी २०३६ सालदेखि पूर्णकालीन राजनीतिमा लागेका थिए। अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सह–सचिव, कोषाध्यक्ष र सचिव हुँदै २०३८ सालदेखि समाजको केन्द्रीय सचिव हुँदै दोस्रो सम्मेलनपछि महासचिव र अध्यक्षको जिम्मेवारी बहन गर्दै दाहाल पार्टी सङ्गठन विस्तारमा समर्पित रहे।

संगठनको मुखपत्र नेपाली एकता प्रकाशन गरी भारतमा रहने नेपालीबीच राजनीतिक कार्य अगाडि बढाउन मुख्य भूमिका खेल्नुभयो । २०५७ सालदेखि उनी माओवादी पार्टीको केन्द्रीय सदस्य भएर क्रियाशील छन्। यसअघि २०६३ को अन्तरिम व्यवस्थापिकामा पनि संसद् सदस्य बनेका थिए। उनी २०६४ मा भएको पहिलो संविधानसभा सदस्य निर्वाचनमा चितवन–३ बाट निर्वाचित भएका थिए।

यस्तै चार वर्ष प्रतिनिधसभा अन्तर्गतको लेखा समिति सदस्य भएर समेत काम गरेका थिए। आफ्ना दाजु रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सल्लाहकार भएर समेत काम गरेका थिए। लामो राजनीतिक जीवन व्यतीत गरेका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुन्। 

प्रकाशित मिति: १५:१६ बजे, मंगलबार, फागुन २९, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्