Kathmandu Press

‘चलचित्र गोर्खा वारियरमा पुर्खाले भोगेका वास्तविक घटना चित्रण भएको छ’

दिक्तेलमा प्रदर्शन गरिएको चलचित्र गोर्खा वारियरको च्यारिटी शोको पहिलो दिन हल भरिएको आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिए।
‘चलचित्र गोर्खा वारियरमा पुर्खाले भोगेका वास्तविक घटना चित्रण भएको छ’

खोटाङ, फागुन २९ : ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना) ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ। 

खोटाङकै भूमिमा जन्मिएर ब्रिटिस आर्मीको विमान चालक क्याप्टेन रितेश चाम्सको मुख्य भूमिकामा निर्माण गरिएको चलचित्र ‘गोर्खा वारियर’ यही फागुन २८ गतेदेखि चैत १ गतेसम्म दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा विशेष च्यारिटी शोको व्यवस्था गरिएको हो। 

दिक्तेलमा प्रदर्शन गरिएको चलचित्र गोर्खा वारियरको च्यारिटी शोको पहिलो दिन हल भरिएको आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिए।

Hardik ivf

चार दिनसम्म सञ्चालन हुने विशेष च्यारिटी शोअन्तर्गत हरेक दिन बिहान ११, अपराह्न २ र बेलुका ५ बजे गरी तीन शो राखिएको आयोजकले जनाएको छ। 

खोटाङकै निर्माता र खोटाङकै नायकले तयार पार्नुभएको चलचित्र गोर्खा वारियरको विशेष च्यारिटी शोअन्तर्गत पहिलो दिनको शोमा जिल्लास्थित उच्चपदस्थ व्यक्त सहभागी थिए। संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिलगायतले अवलोकन गरेका छन्। 

चलचित्र गोर्खा वारियरले पुर्खाहरुले भोगेका वास्तविक घटनालाई चित्रण गरेको पाइएको संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य राईले बताए। चलचित्र गोर्खा वारियर पुर्खाका इतिहास बुझ्न भावी पुस्ताका लागि सजिलो भएको दर्शकले प्रतिक्रिया दिएका छन्। 

चलचित्र गोर्खा वारियर पुर्खाहरुको वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर निर्माण गरिएको नायक क्याप्टेन रितेशले बताए। 'चलचित्र गोर्खा वारियरमा ७० वर्षअघिको इतिहासलाई देखाउन खोजिएको छ, युद्धमा गोर्खाली सेनाले भोगेका वास्तविक कथावस्तुमा आधारित भएर चलचित्र निर्माण गरिएको हो', उहाँले भन्नुभयो, 'चलचित्रमा गोर्खाली सेनामा आबद्ध रहेकाहरुको जीवनको भोगाइ र पीडालाई समावेश गरिएको छ, चलचित्रमार्फत मौलिकपना देखाउन खोजिएको छ।'

चलचित्र गोर्खा वारियरका लागि सोलुखुम्बुका पहाडी क्षेत्र, सर्वोच्च शिखर सगरमाथा, सिन्धुलीको दरबार क्षेत्रका साथै मलेसियामा छायाङ्कन गरिएको छ। चलचित्र निर्देशक मिलन चाम्सले निर्देशन गरेको चलचित्र गोर्खा वारियर नेपालीले हेर्नैपर्ने चलचित्र बनेको निर्माता सुमन राईले दाबी गरे। 

चलचित्रमा नायक क्याप्टेन रितेशसँगै नायिका रेविका गरुङ, विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्रीलगायत कलाकारको अभिनय छ। चलचित्र गोर्खा वारियर ब्रिटिस एकेडेमी फिल्म एन्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट भएको चलचित्र हो। 

गोर्खालीको इतिहास, बहादुरी, हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र गोर्खा वारियर निर्माण गरिएको निर्देशक मिलनले बताए। 'विगतमा नेपालीहरुले गोर्खा लाहुरे हुनुपर्ने बाध्यतालाई चलचित्रको विषयवस्तु बनाइएको छ, चलचित्र गोर्खा वारियरमा अभिनय, कला र

मार्सलआर्टसमेत समेटिएको छ', उनले भन्नुभयो, 'चलचित्र गोर्खा वारियर नेपाली चलचित्र इतिहासमै सबैभन्दा बढी लगानीमा तयार भएको चलचित्र हो, चलचित्र गोर्खा वारियरमा लगानी गरेअनुसार दर्शकको मन जित्न पनि उत्तिकै सफल भएको छ।' 

लन्डनको आइम्याक्स सिनेमा घरमा प्रिमियर शो गरिएको चलचित्र गोर्खा वारियर फागुन ११ गतेदेखि देशभर प्रदर्शन भइरहेको जनाइएको छ। चलचित्र गोर्खा वारियर हङकङ, अमेरिका, दक्षिण कोरियालगायत ठाउँमा विशेष प्रिमियर साे गर्ने तयारी गरिएको निर्माता राईले जानकारी दिए। 

प्रकाशित मिति: १४:५० बजे, मंगलबार, फागुन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्