Kathmandu Press

कोरोनाको त्रास : काठमाडौं छोड्ने भन्दा भित्रिने यात्रुको संख्या बढी 

काठमाडौं, चैत ६ : कोरोना भाइरसको त्रास बढेपनि काठमाडौं उपत्यकाबाट बाहिरिने भन्दा भित्रिने यात्रुको संख्या बढेको छ। 

विश्वव्यापी रु....

कोरोनाको त्रास : काठमाडौं छोड्ने भन्दा भित्रिने यात्रुको संख्या बढी 
फाइल

काठमाडौं, चैत ६ : कोरोना भाइरसको त्रास बढेपनि काठमाडौं उपत्यकाबाट बाहिरिने भन्दा भित्रिने यात्रुको संख्या बढेको छ। 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको त्रासका कारण काठमाडौं उपत्यका छोड्नेको संख्या बढेको समाचार सार्वजनिक भइरहँदा महानगरीय ट्राफिक महाशाखाको तथ्यांक भने विपरीत छ। चैत १ देखि ५ गतेसम्मको तथ्यांक हेर्दा उपत्यकामा भित्रिने यात्रु र सवारीको संख्या धेरै छ। 

विगत पाँच दिनमा काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट भित्रिने र बाहिरिने सवारीसाधनको विवरण अनुसार उपत्यकाबाट बाहिरिने भन्दा भित्रिनेको संख्या १८ हजार ९८६ ले बढी छ। यस्तै, पाँच दिनमा उपत्यकाबाट बाहिरिने सवारीभन्दा ५ हजार ९५२ बढी सवारी भित्रिएका छन्। यो अवधिमा उपत्यकामा ८० हजार ५९२ सवारी भित्रिदा  ७४ हजार ६४० सवारी बाहिरिएका छन्। 

यसैगरी, चार लाख ५३ हजार १३३ यात्रु काठमाडौं आएका छन् भने चार लाख ३४ हजार १४७ जनाले काठमाडौं छोडेका छन्। चैत ६ गतेको तथ्यांक भने शुक्रबार मात्रै आउने महाशाखाले जनाएको छ।  

अनावश्यक हल्ला फैल्याइयो : ट्राफिक महाशाखा

कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले एसईई लगायतका सबै परीक्षा स्थगित गर्नुका साथै अत्यावश्यक काममा बाहेक घरबाहिर ननस्किन र सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेलामा रोक लगाउने लगायतका निर्णय गर्‍यो। 

लगत्तै बिहीबार उपत्यकाबाट ठूलो संख्यामा मानिसहरु बाहिरिएको समाचार सार्वजनिक भयो। यसले कोरोना त्रासका कारण आत्तिएका मानिसमा थप त्रास सिर्जना गरेको महाशाखाले जनाएको छ। 

‘कोरोनाको त्रास छँदैछ। सँगै तथ्यांक नहेरि चलेका यस्ता हल्लाले थप डर सिर्जना गरेको छ,’ महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले भने, ‘हाम्रो तथ्यांकमा उपत्यका छोड्ने भन्दा आउने धेरै छन्।’ 

शैक्षिक संस्था बन्द रहेका सडकमा सवारी चाप कम देखिएपनि हल्ला अनुसार यात्रुहरुले उपत्यका नछोडेको उनको भनाइ छ। यद्यपी विद्यालय बन्द भएपछि घर जानेको संख्या भने बढ्न सक्ने उनले बताए। 

‘दशैंमा जस्तै मानिसले उपत्यका छोडे भन्ने खालका हल्ला सत्य होइनन्,’ उनले भने, ‘विद्यालय बन्द भएकाले घर जाने बढ्लान्। आजको तथ्यांक भोलिमात्रै आउँछ। त्यसपछि मात्रै यो संख्या थाहा हुन्छ। अहिले हामीले त्रास सिर्जना गर्ने होइन, हैसला बढाउने हो।’ 

यस्तो छ पाँच दिनको तथ्यांक 


 

प्रकाशित मिति: १७:२५ बजे, बिहीबार, चैत ६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्