सरकारमा पठाउने व्यक्तिबारे छलफल नगरिएपछि समाजवादीमा चर्को असन्तुष्टि

काठमाडौं, फागुन २८ : सरकारमा पठाउने व्यक्तिको बिषयमा पार्टीमा छलफल नभएको बताउँदै नेकपा एकीकृत समाजवादीमा भनाभन् भएको छ।
समाजवादीका सांसदहरूले सचिवालय बैठकको निर्णयविनै आफूखुसी मन्त्री बनाएको भन्दै आरोप लगाएका छन्। सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा सांसदहरुले पार्टी अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालको चर्को आलोचना गरेका हुन्। सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि पुनः पार्टी बैठक बसेर सरकारमा सहभागीताबारे निर्णय गर्ने भने पनि आफूखुसी मन्त्रीको नाम पठाएपछि वैठकमा भनाभन्को अवस्था आएको हो।
सचिवालय बैठकले सरकारमा सहभागी हुने या नहुने भन्ने बिषयमा पार्टीका तीन नेतालाई प्रधानमन्त्रीसँग छलफल गर्न खटाइएको थियो। छलफलकै क्रममा प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट मन्त्री हुनेहरू भानुभक्त जोशी र धनबहादुर बुढाको नाम दिइएपछि पार्टीमा विवादको रुप लिएको हो। सोमबारको बैठकमा सांसदहरुले शक्ति बाँडफाँडमा कुनै भूमिका र लिखित सहमति भए नभएको बिषयमा अध्यक्ष नेपालसँग जवाफ मागेका थिए।
सांसदले जवाफ मागेपछि अध्यक्ष नेपाल र सांसदहरूबिच भनाभन् चलेको बताइएको छ। सांसदहरुले यही अवस्थामा प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसकिने भन्दै चेतावनी समेत दिएका छन्। प्रदेश भागबन्डा समेत प्रश्ट नभएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन्।
सांसदहरूको आपत्तिपछि अध्यक्ष नेपालले समय अभावले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाएको प्रश्टीकरण दिएका थिए। बैठकपछि प्रमुख सचेतक समेत रहेका मेटमणि चौधरीले प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिने प्रतिक्रिया दिएका छन्।












