मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आगलागी
आगलागी हुँदा उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरु जलेका छन्।
झापा, फागुन २८ : मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा आज बिहान ५ बजेदेखि सुरु भएको आगलागी भएकोे छ। आगलागी अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन। आगलागी हुँदा उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरु जलेका छन्।
मेचीनगर–१५ का वडाध्यक्ष राजन भट्टराईका अनुसार सोमबार विहान ५ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
उद्योगमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेटर रोहित शर्माले बताए।
अहिले उत्तर र पूर्वतिर आगो नियन्त्रण भएको छ भने उद्योगको पश्चिमतिर अझै पूर्ण रुपमा आगो नियन्त्रण लिन नसकिएको प्रहरीको भनाई छ। आगो पुर्ण रुपमा नियन्त्रणमा आउन आज दिनभरि लाग्न सक्ने अनुमान शर्माको छ।
शर्माका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ। झापाका ७ वटा स्थानीय तहका बारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन् । उनका अनुसार अब मोरङदेखि थप दमकल मगाइएको छ।
आगो नियन्त्रणमा लिन भारतबाट समेत दमकल बोलाइएको छ। भारतको नक्सलबारीबाट दमकल घटनास्थलतर्फ आउँदै गरेको मेचीनगर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विजय डालमियाले जानकारी दिएका छन्।












