Kathmandu Press

अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनुहँदैन : अभिनेता आचार्य

आदर्श पुरुष र सरल छवि निर्माण गरेका अभिनेता आचार्य पर्दामा पनि  त्यस्तै भूमिका निर्वाह गर्छन्। 
अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनुहँदैन : अभिनेता आचार्य
Hardik ivfHardik ivf

काठमाडौं, फागुन २८ : गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारका तर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बने। आदर्श पुरुष र सरल छवि निर्माण गरेका अभिनेता आचार्य पर्दामा पनि  त्यस्तै भूमिका निर्वाह गर्छन्। 

तर यसपटक उनले आगामी चलचित्र ‘महाजात्रा’ मा राजनीतिज्ञको भूमिका निर्वाह गरेका छन्। सेवा भावभन्दा अनैतिक कार्यलाई प्रश्रय दिने नेताको भूमिका निर्वाह गर्नुभएका अभिनेता आचार्यले सकारात्मक र नकारात्मक दुवै भूमिकाले अभिनयलाई पूर्ण बनाउने बताए। 

चलचित्र ‘महाजात्रा’ को प्रचारप्रसारमा सहभागी आचार्यले षट्कोण आर्ट्समा सञ्चारकर्मीसँग कुराकानी गर्दै अभिनेताका रुपमा आफू एकै किसिमको भूमिकामा समेटिन नचाहेको जानकारी दिए। 

'म र मैले अभिनय गर्ने पात्र फरक हुन्। सोही कारण मेरो निजी जीवन पात्रमा नआओस् भन्ने चाहन्छु। त्यहीअनुरूप मैले अभिनय गर्ने गरेको छु। यसपटक मैले नेताको भूमिकामार्फत् भइरहेको विकृति र त्यसले पारिरहेको असरलाई प्रस्तुत गरेको छु। यसले नकारात्मक पक्षबारे आम दर्शकलाई प्रष्ट्याउँछ', अभिनेता आचार्यले भने। 

उनले आफूसँग मह सञ्चारमा डेढ दशक अगाडि काम गरेका कारण पनि निर्देशक प्रदीप भट्टराईको कामप्रति विश्वास रहेको बताए। उनले भने, 'निर्देशक भट्टराईले समाजलाई सन्देश र दर्शकलाई मनोरञ्जन दिने कथा तयार गर्छन्। सोही कारण पनि म उहाँ प्रति विश्वस्त भएर कथा नहुँदा पनि अभिनय गर्न सक्छु। यसपटक पनि मलाई पूर्ण कथाभन्दा पनि चरित्रको बारेमा थाहा थियो। तर, चलचित्र उहाँले लेखिएको भन्दा राम्रो बनाउनुभएकाे छ।'

अभिनेता आचार्यले ‘महाजात्रा’ कलात्मक र व्यावसायिक दुवै पक्षलाई ध्यान दिएर तयार गरिएको बताउनुभयो। किनकि उहाँ सफल हुन कलाको प्रशंसासँगै व्यावसायिक सफलता पनि अनिवार्य हुने विचार राख्छन्। निर्देशक भट्टराईले अभिनेता आचार्यमा रहेका सम्भावना व्यक्तिगत जीवनका कारण समेटिनु हुँदैन भन्नेमा जोड दिए। 

'अभिनेता आचार्य मेरो गुरू हुनुहुन्छ। उनले गर्ने अभिनय र त्यसको क्षमतालाई मैले विगत दुई दशकदेखि देखेको छु। तर, उहाँको छविका कारण उहाँलाई एकै किसिमको भूमिका प्रस्ताव हुने गरेका छन्। त्यो नहोस् भन्ने मेरो चाहना हो', निर्देशक भट्टराईले भने। 

चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, दिव्य देव, राजाराम पौडेल, प्रकाश घिमिरे, गौमाया गुरुङ, अरविन खड्कालगायतका कलाकारले अभिनय गर्नुभएको छ। दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नुभएको चलचित्र आउँदो चैत ९ गतेदेखि नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदैछ।  

प्रकाशित मिति: १३:३९ बजे, सोमबार, फागुन २८, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्