मुआब्जा लिएपछि दमौलीमा घर भत्काउन थालियो
जिल्लाको बन्दीपुर डुम्रेदेखि दमौलीतर्फ सडक विस्तारका कार्यअघि बढाइएपछि सडक मापदण्डमा पर्ने दमौलीका घर भत्काउन थालिएको हो।
तनहुँ, फागुन २७ : मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको सदरमुकाम दमौलीका बासिन्दाले मुआब्जा लिएर घर भत्काउन थालेका छन्। दमौलीमा भत्किने सत्तरी घरमध्ये पचास जनाले पहिलो किस्ता बापतको मुुआब्जा बुझेर घर भत्काउन सुरु गरेका हुन्।
पहिलो किस्ता लिएकामध्ये तेह्र जनाले आफैं घर भत्काउन सुरु गरेका छन्। जिल्लाको बन्दीपुर डुम्रेदेखि दमौलीतर्फ सडक विस्तारका कार्यअघि बढाइएपछि सडक मापदण्डमा पर्ने दमौलीका घर भत्काउन थालिएको हो।
घर भत्काइसकेपछि बाँकी दोस्रो किस्ता बापतको मुआब्जा प्रदान गरिने मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णु पाण्डेले जानकारी दिए। ‘दमौलीका घरका लागि करिब ६ करोड मुआब्जा वितरण गरिनेछ,’ उनले भने ‘वर्तमान सडकको डिजाइनअनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३÷२३ मिटरको हुनेछ।’
दमौलीका घर बचाउनका लागि मापदण्ड घटाइयो भनेर गलत प्रचार गर्ने कार्य भएको हुँदा सडकको मापदण्ड फेरबदल हुन नसक्ने उनले बताए।
पृथ्वीराजमार्ग सडक अन्तर्गत पूर्व–पश्चिम गरी दुई खण्डमा यतिबेला सडक विस्तारका कार्य तीव्र गतिमा भइरहेको छ। हालको भौतिक प्रगति अनुरुप पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव पाँच प्रतिशत रहेको छ।
उनका अनुसार दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ। राजमार्गको अन्य क्षेत्रमा चार लेनको सडक कायम रहेको छ। आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ। -रासस












-1755255383.jpg)