धर्मलाई राजनीतिसँग जाेड्दा बिखण्डन बढ्यो : पूर्वराष्ट्रपति यादव
‘धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको छ, धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा मात्र हुनुपर्छ,’ उनले भने।
धनुषा, फागुन २७ : प्रथम राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिसँग जोडेर हेर्ने प्रवृतिले समाजमा विखण्डन बढेको बताएका छन्।
ऐतिहासिक मिथिला माध्यमिक परिक्रमाको आइतबार उद्घाटन गर्दैै डा.यादवले धर्मलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन्। ‘धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको छ, धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा मात्र हुनुपर्छ,’ उनले भने।
यादवले धर्मलाई राजनीतिसँग जोडेर हेर्दा समाज विखण्डनतर्फ अघि बढिरहेको उल्लेख गर्दै चिन्ता व्यक्त गरे। उनले भने, ‘धार्मिक कार्यक्रमहरुमा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ।’
पूर्वराष्ट्रपति यादवले मिथिला मध्यमा परिक्रमा जस्तो धार्मिक परम्परामा राजनीतिकरण गर्न नहुने बताए। उनले यसलाई विशुद्ध धार्मिक कार्यक्रम नै रहन दिनपर्ने भन्दै आग्रह समेत गरे।
पन्ध्र दिने ऐतिहासिक मिथिला माध्यमिक परिक्रमा आजदेखि धनुषाको कौचरीबाट विधिवत सुरुआत भएको छ। नेपाल र भारतका हजारौं संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागीता हुने उक्त परिक्रमा विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदलयात्रा गर्ने गरिन्छ।
मिथिलाको महाकुम्भको रुपमा मानिएको मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीमा रहेको मठबाट डोला निकालिएसँगै यात्राको प्रारम्भ भएको हो।
यात्राको सुरुआत प्रथम राष्ट्रपति यादव र मधेस प्रदेश सरकारका उद्योग पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवको उपस्थितिमा मिथिला बिहारीको डोला उठाएसँगै सुरु भएको छ।
यद्यपि यात्राको विधिवत शुरुवात भने सोमबार जनकपुरधामस्थित हनुमानगरबाट हुनेछ। फागुन शुक्ल औंसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछ।
हनुमानगढीबाट निस्केपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुवात हुन्छ । नेपालको धार्मिक ऐतिहासिक ठाउँहरुको १०७ किलोमिटर र भारतको २६ किलोमिटर कूल १३३ किलोमिटर भूभागको यात्रा गरिन्छ।
१८औं शताब्दीदेखि धार्मिकयात्रा १४ दिनसम्म धार्मिकयात्रालाई माध्यमिकी परिक्रमाको रूपमा मनाई १५ औँ दिनभित्र जनकपुर पुगी होली खेलेर फागु पूर्णिमा तिथि पारेर यो परिक्रमालाई समापन गर्ने परम्परा छ।












