काठमाडौं–पूर्व बस एउटै व्यवस्थापनमा सञ्चालन हुने
पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापाले व्यवसायीबीच रहेको अस्वस्थ प्रतिस्पर्धा कम गर्दै दुर्घटना रोक्नका लागि उक्त व्यवस्थापनले सहयोग पुग्ने बताए।
काठमाडौ, फागुन २७ : काठमाडौंबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन सुरु गरेका छन्।
यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन थालेका हुन्।
पूर्वबाट काठमाडौं आउने सवारीसाधन ‘झापा संयुक्त यातायात व्यवस्थापन’बाट सञ्चालन हुँदै आएका छन्। पूर्व यातायात व्यवस्थापन प्रालिका सल्लाहकार श्री श्रेष्ठले पछिल्लो समय धरासयी बन्दै गएको नेपालको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि आजदेखि एउटै व्यवस्थापनको सुरुआत गरिएको बताए।
एउटै व्यवस्थापनमा सञ्चालन भएसँगै अब काठमाडौंबाट काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगर, रगेली, बुधबारे, बनियानी, गाईघाट, लहानलगायतमा सम्बन्धित क्षेत्रका टिकट काउण्टरमार्फत सञ्चालन हुनेछन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघअन्तर्गत देशभरका तीस भन्दाबढी प्रालिमार्फत छुट्टाछुट्टै रुपमा सञ्चालन हुँदै आएका बस एउटै व्यवस्थापनमा सञ्चालन हुन थालेपछि यात्रुलाई सहज हुनेछ।
हाल काठमाडौंबाट पूर्वमा घोडाघोडी यातायात, विनायक, प्राइम, मितेरी, गोल्डेन गुगल, बिराट, स्वयम्भू नेशनल, मेची एयर, अग्नि, रकेट, बिहानी, बुलेट, महालक्ष्मी, मेट्रो कोसी, रक्षक, सुप्रिमलगायत कम्पनीका बस सञ्चालन हुँदै आएका छन्।
संयुक्त व्यवस्थापनका लागि आवश्यक मार्ग निर्देशन, राय तथा सुझाव प्रदान गर्नका लागि पूर्व यातायात व्यवस्थापन प्रालिले यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र अग्रज यातायात व्यवसायी श्रीप्रसाद मैनाली सम्मिलित पाँच सदस्यीय समिति बनाएको छ।
पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक राजेन्द्र थापाले व्यवसायीबीच रहेको अस्वस्थ प्रतिस्पर्धा कम गर्दै दुर्घटना रोक्नका लागि उक्त व्यवस्थापनले सहयोग पुग्ने बताए। उक्त व्यवस्थापनले व्यवसायीको लगानीलाई सुरक्षित गर्दै व्यवसायलाई संरक्षण र सम्बर्द्धन गर्ने उल्लेख गरे।












-1755255383.jpg)