‘व्यवस्थालाई नजरअन्दाज गरेर खराब भाष्य खडा गर्न पाइँदैन्’
देशमा अदालत, पुलिस प्रशासनबाट भीड हेरर मात्र निर्णय गर्ने र निवेदन लिने प्रवृत्ति हावी भएको उनको भनाइ छ।
काठमाडौं, फागुन २६ : नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले अहिलेको व्यवस्थालाई नजरअन्दाज गरेर खराब भाष्य खडा गर्ने काम भइरहेको बताएकी छिन्।
शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा महिला आन्दोलनको गति र गन्तब्य’ नामक कार्यक्रममा उनले ठूलो संघर्षबाट आएको व्यवस्थालाई नजरअन्दाज गरेर भाष्य खडा गर्ने गलत काम भइरहेको बताएकी हुन्।
‘यो व्यवस्था सानोतिनो संघर्षबाट आएको होइन् । व्यवस्थालाई नजरअन्दाज गरेर खराब ढङ्गले खराब भाष्य खडा गरिँदैछ । यो एकदमै गलत छ,’ उनले भनिन्, ‘महिलाको अधिकारलाई अक्षुण राख्नुपर्छ भन्नुको अर्थ आज जे भइरहेको छ यहि भनेको हो ? आफ्ना व्यवहारलाई सामाजिक र मर्यादितको सीमा भित्र राख्नुपर्छ कि पर्दैन?’
नेतृ झाँक्रीले अब बन्ने कानुनमा सामाजिक, सीमा र मर्यादाभन्दा बाहिरका सबै क्रियाकलाप सामाजिक अपराध हुन भनेर परिभाषित गर्नुपर्ने बताइन्।
उनले अहिलेको व्यवस्थाभित्र महिलाले प्राप्त गरेको अधिकार धेरै ठूलो उपलब्धी प्राप्त भएको बताइन्। देशमा अदालत, पुलिस प्रशासनबाट भीड हेरर मात्र निर्णय गर्ने र निवेदन लिने प्रवृत्ति हावी भएको उनको भनाइ छ।












