‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउनु पर्छ : महामन्त्री शर्मा
राजनीति सिस्टममा चल्न सकेन भने मान्छे हिरोइजमको पछि लाग्ने उनले बताए। उनले संसदमा विचाराधिन रहेको विद्यालय शिक्षा विधेयक छिट्टै दर्ता गर्न नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
काठमाडौं, फागुन २६ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकास गर्न ‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक रहेको बताएका छन्।
शनिबार नेपाल शिक्षक संघ बागमती प्रदेश चौथो प्रतिनिधिसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले देशमा राजीनतिक सिस्टमले काम गर्नसक्यो भने मात्र मुलुकले गति लिने बताउँदै नेपाल बन्दैन भन्ने मनोविज्ञान भत्काउन आवश्यक रहेको बताए।
‘यो देश सिस्टमले बनाउने हो कि हिरोले बनाउने हो ? एउटा फिल्मको हिरोले बनाएजस्तो गरेर देश बन्दैन्,’ उनले भने, ‘देश बनाउनका लागि सिस्टमको आवश्यकता छ । नेपाली कांग्रेसले सिस्टम समात्छ। यो देशको विकासका लागि ‘नेपाल कहिले बन्दैन’ भन्ने मनोविज्ञान भत्काउन आवश्यक छ।’
राजनीति सिस्टममा चल्न सकेन भने मान्छे हिरोइजमको पछि लाग्ने उनले बताए। उनले संसदमा विचाराधिन रहेको विद्यालय शिक्षा विधेयक छिट्टै दर्ता गर्न नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
‘आधा शताब्दीपछि आएको शिक्षा विधेयक संसदमा छ । अस्तीको सदनले पास गर्नुपथ्र्यो गरेन भन्ने गुनासो आयो यो स्वाभाविक हो। तर के कुरामा स्पष्ट पार्न चाहन्छु भने अस्तीको सदन भनेको बजेट अधिवेशनका लागि हो,’ उनले भने, ‘संसदमा एउटा बजेट र अर्को विधेयक अधिवेशन गरेर दुईवटा अधिवेशन हुन्छन्। ५० वर्षपछि आएको शिक्षा विधेयक पास हुनुपर्छ।’
शिक्षा विधेयकमा विभिन्न पक्षहरु सुधार्नुपर्ने भएकाले आफूहरु शिक्षकको संरक्षण र सेवासुविधका लागि बोलिरहेको बताए।












