Kathmandu Press

‘नयाँ समीकरण असफल पार्न दक्षिणपन्थीहरू सक्रिय छन्’

नेता खनालले नयाँ समीकरण बन्नासाथ भूराजनीतिक शक्तिहरूको चासो बढिरहेको उल्लेख गरे। उनले नयाँ सरकार बनेकै दिनदेखि दक्षिणपन्थी शक्तिहरू षड्यन्त्रमा लागेको बताए।
‘नयाँ समीकरण असफल पार्न दक्षिणपन्थीहरू सक्रिय छन्’
फाइल तस्बिर।

काठमाडौं, फागुन २६ : नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नयाँ बनेको सरकारले जनतामा नयाँ आशाको सञ्चर गरेको बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले वर्तमान सरकारलाई जनताको अवस्था परिवर्तन गर्नेगरी काम गर्नुपर्ने सुझाव दिए ।

Hardik ivf

नेता खनालले नयाँ समीकरण बन्नासाथ भूराजनीतिक शक्तिहरूको चासो बढिरहेको उल्लेख गरे। उनले नयाँ सरकार बनेकै दिनदेखि दक्षिणपन्थी शक्तिहरू षड्यन्त्रमा लागेको बताए।

‘हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ। यद्यपि यो सरकार बनेकै दिनदेखि यसलाई असफल पार्न दक्षिणपन्थी शक्तिहरू विभिन्न प्रकारका चलखेल र षड्यन्त्रमा लागिसकेका छन्’ खनालले भनेका छन्।

तत्कालिन कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेर एमाले, रास्वपालगायतसँग नयाँ सरकार बन्नु सकारात्मक परिवर्तन रहेको तर्क  खनालले गरे। उनले भने, ‘यो सरकार बन्दा आमजनतामा नयाँ आशाको संचार भएको छ र मुलुकका वामपन्थी, देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र समाजवादी शक्तिहरू समेत यो सरकारप्रति सकारात्मक देखिएका छन्।’

प्रगतिशील र समाजवादी शक्तिहरूसँगको नयाँ गठबन्धनले वर्तमान सरकारलाई अझ घनिष्ठ रूपले एकताबद्ध भएर अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत गर्ने धारणा खनालको छ।

नयाँ बनेको सत्ता गठबन्धनलाई फुटाउन कांग्रेस अग्रसर भएकोप्रति व्यङ्ग्य गर्दै गठबन्धनले चुनौतिहरुको एकताबद्ध भएर सामना गर्न मद्दत गर्ने बताए। ‘कतिपय पार्टीहरूभित्रै पनि षड्यन्त्रका तानाबाना बुनिँदैछन्,’ उनले भने, ‘यी चुनौतीहरूले वर्तमान गठबन्धनलाई अझ घनिष्ठ रूपले एकताबद्ध हुन र अग्रगमनकारी नीति लिएर अघि बढ्न थप मद्दत पनि गर्नेछ ’

खनालले अगाडिको गठबन्धन सरकारले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न नसकेको, बेरोजगारी र भ्रष्टाचार बढेको बताउँदै अहिलेको बामपन्थी एकता समयको माग भएको बताए।

प्रकाशित मिति: ११:१४ बजे, शनिबार, फागुन २६, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्