संविधान र राष्ट्रका लागि गठबन्धन परिवर्तन : भुसाल
नयाँ सत्ता गठबन्धनले जनतालाई सुशासन र परिवर्तनको अनुभूति गराउने संकल्पका साथ काम गर्ने भन्दै त्यसअनुसार काम हुन नसके मुलुक थप समस्यामा पर्ने उनले बताइन्।
काठमाडौं, फागुन २५ : नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले अहिलेको व्यवस्था, संविधान र राष्ट्रका लागि गठबन्धन परिवर्तनको निर्णय भएको भएकी छिन्।
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले प्रधानमन्त्रीले पदका लागि नभई व्यवस्था र संविधानको रक्षाका साथै राष्ट्रको पक्षमा लागि गठबन्धन परिवर्तनको निर्णय लिएको बताइन्।
नयाँ सत्ता गठबन्धनले जनतालाई सुशासन र परिवर्तनको अनुभूति गराउने संकल्पका साथ काम गर्ने भन्दै त्यसअनुसार काम हुन नसके मुलुक थप समस्यामा पर्ने उनले बताइन्।
भुसालले अहिले बामपन्थीहरुको बाहुल्यतासहितको नयाँ गठबन्धन बनेको भन्दै यसलाई मोर्चा हुँदै एउटै पार्टी बनाउनेसम्म अघि बढाउनुपर्ने धारण राखिन्। दीर्घकालमा एउटै देशमा दुईवटा कम्युनिष्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै एक दिन सवै कम्युनिष्टहरु एकै ठाउ आउनै पर्ने उनले बताइन्।
आफुहरुले लडेर ल्याएको अधिकार कार्यान्वयनका लागि र थप अधिकार स्थापीत गर्न संघर्षको मोर्चा छाड्न नसकिने जिकिर उनको थियो। ‘संघर्षको स्वरुप भने फरक–फरक हुन सक्छ। राज्य संचालन गर्ने स्थानमा नै महिला प्रतिनिधि नभएसम्म महिलाको हक अधिकार पूर्णरुपमा कार्यान्वयन हुन नसक्दैन,’ उनले भनिन्।
भुसालले संघ र प्रदेशमा ३३ प्रतिशत महिलाको अनिवार्य सहभागीता गराउनुपर्ने व्यवस्था रहेको भन्दै एकपटक अवसर पाएकालाई अर्कोपटक नदोहराउने प्रस्ताव माओवादीको विधानमा गरिएको बताइन्। उनले १ गते बस्ने माओवादीको स्थायी कमिटीले विधानलाई अन्तिम रुप दिने बताइन्।












