एमालेबाट मन्त्री बनेकाहरुलाई निवासमै बोलाएर ओलीले भने– फसाउलान, होस गर्नुस् !
‘राजनीतिमा उतारचढाव भइरहन्छ, प्रचण्डजी तथा माओवादीसँग हिजो हाम्रो द्वन्द्वात्मक सम्बन्ध थियो तर आज पार्टी बेग्लै भएपनि हामी एक भएका छौं,’ ओलीले भने, ‘प्रचण्डजी र सरकारको सफलता नै हाम्रो सफलता भएको हो । हाम्रो सफलता नै प्रचण्डजीहरुको सफलता हो।’
काठमाडौं, फागुन २५ : एमाले अध्यक्ष केपी ओलीले नयाँ सत्ता समीकरण अनुसार आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई अलग्गै निर्देशन दिएका छन्। मन्त्रीहरुलाई आफ्नै निवासमा बोलाएर ओलीले निर्देशन दिएका हुन्।
करिब एक घण्टा निवासमा राखेर ओलीले मन्त्रीहरुलाई भने, ‘फसाइदेलान् होस् गर्नुस् । सरकारलाई जसरी पनि सफल पार्नुपर्ने हाम्रो दायित्व हो । सरकारलाई सफल पार्न सकिएन भने एमाले पनि असफल हुन्छ, देश पनि असफल हुन्छ।’
अध्यक्ष ओलीले वर्तमान राजनीति चुनौतीपूर्ण रहेको भन्दै सरकारको सफलताले मात्र चुनौती सामना गर्न सम्भव रहने बताए।
‘राजनीतिमा उतारचढाव भइरहन्छ, प्रचण्डजी तथा माओवादीसँग हिजो हाम्रो द्वन्द्वात्मक सम्बन्ध थियो तर आज पार्टी बेग्लै भएपनि हामी एक भएका छौं,’ ओलीले भने, ‘प्रचण्डजी र सरकारको सफलता नै हाम्रो सफलता भएको हो । हाम्रो सफलता नै प्रचण्डजीहरुको सफलता हो।’
ओलीले प्रधानमन्त्री प्रचण्डसँग सजग रहेर काम गर्न पनि भनेका छन्। उनले प्रधानमन्त्रीको कार्यशैली र विशेषताबारे पनि मन्त्रीहरु बताएका थिए।
ओलीले भ्रष्टाचार, अनियमितताबाट टाढै रहन र मिडियामा आएका अतिरन्जित समाचारबाट जोगिएर काम गर्न पनि भनेका छन्।