‘महिलामैत्री नीति र कानुन निर्माणमा भूमिका खेल्छु’
‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले व्यक्तिगत रूपमा महिलामैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु। प्रविधिको पहुँचमा लैंगिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्नेछु,’ उनले भनेकी छिन्।
काठमाडौं, फागुन २५ : कांग्रेस नेतृ तथा सांसद डा. आरजु राणा देउवाले महिलामैत्री नीति र कानुन निर्माणका लागि संसदमा क्रियाशील रहने बताएकी छिन्।
महिला हकअधिकारका लागि लामो समयदेखि पैरवी गर्दै आएकी प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समिति सभापति समेत ररहेकी डा. राणाले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै सूचना प्रविधिमा महिलाको पहुँच स्थापित गर्न नीतिगत सुधारमा क्रियाशील रहने बताएकी हुन्।
‘प्रतिनिधिसभा सदस्यको हैसियतमा मैले व्यक्तिगत रूपमा महिलामैत्री नीति र कानुनलाई सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछु। प्रविधिको पहुँचमा लैंगिक समानतालाई प्रवर्द्धन गर्ने र डिजिटल क्षेत्रमा महिलाको आवाज सुनिने गरी नीतिगत सुधारमा काम गर्नेछु,’ उनले भनेकी छिन्।
उनले ग्रामीण र सीमान्तकृत समुदायका महिलाको प्रविधि साक्षरता बढाउँदै सूचना प्रविधिको क्षेत्रमा उनीहरूको पहुँच पुर्याउन नीतिगत सुधारमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्। महिला सशक्तीकरणको विषय केवल महिलाको मात्र मुद्दा होइन, यसका लागि महिला र पुरुष दुवैको समान र सक्रिय भूमिका आवश्यक पर्ने उनले उल्लेख गरेकी छिन्।
डा. राणाले विश्वभर महिलामाथि कुनै न कुनै प्रकारका विभेद कायमै रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका अवसरमा महिलाको पहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न नसकेको बताएकी छिन्।
‘महिलाले कार्यस्थलमा विभेदका साथै समान अवसरहरूका क्षेत्रमा बाधा र भेदभाव भोग्दै आएका छन्। तर, हामी सबैले हातेमाले गरेर यी चुनौतीहरू पन्छाउँदै जानुपर्नेछ। आपसी सहकार्यबाट महिलाका लागि विभिन्न क्षेत्रमा भएका अवरोधहरू तोड्न सबै लागि पर्नुपर्ने अवस्था छ,’ विज्ञप्तिमा उल्लेख छ।
विकसित मुलुकहरूको तुलनामा नेपाली नारीहरूले आधारभूत आवश्यकतामै विभेद र शोषण भोग्दै आएको उनको दाबी छ। महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत अभ्यासमा आएको उनले बताएकी छिन्।
महिलाहरु महिलाहरू परिवार, समुदाय र राष्ट्रकै नेतृत्वकर्ता भएको बताउँदै उनले महिलाहरू समाजका हरेक क्षेत्रमा सफल हुँदै आएको हाम्रो गौरवमय इतिहास भएपनि अझै पनि धेरै काम गर्न बाँकी रहेको बताएकी छिन्।












