Kathmandu Press

पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए।
पशुपतिनाथसहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो

काठमाडौं, फागुन २५ : आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ। महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ।

यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ। बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण अधिकारीले जानकारी दिए।

Hardik ivf

उनका अनुसार अहिले भक्तजनलाई मन्दिर प्रवेशदेखि भगवान्को दर्शनका लागि भीड कम भएका कारण सहज भएको छ। भक्तजनको सहजताका लागि पशुपतिनाथका चारैवटै ढोका बिहान २ बजेदेखि खोलिएको र एकैचोटीमा नौ जनादेखि १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ विकास कोषले जनाएको छ।

पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री आएका छन्। यस वर्षको महाशिरात्रिमा कम्तीमा पनि २० लाख जना भक्तजनले पशुपतिको दर्शन गर्ने विकास कोषले अनुमान गरेको छ। पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरुपमा निषेध गरिएको छ।

शिवको पूजा गर्नेको आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वरलगायतका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । आज भक्तजन व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाएर पूजा गर्ने गर्छन्।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने चलन पनि छ।

प्रकाशित मिति: १०:४६ बजे, शुक्रबार, फागुन २५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्