नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई सभाको गरिमा कायम राख्न सुझाव
‘गठबन्धनहरु फेरिरहन्छन्, तर यो स्थिर र स्थायी राष्ट्रिय सभा हो । यो सभाले खेल्ने भूमिका बेग्लै हुन्छ। कहिलेकाही हामी पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्छ,’ उनले भने।
काठमाडौं, फागुन २४ : राष्ट्रियसभा सदस्यहरुले सभाका नवनिर्वाचित सदस्यलाई सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सभाको गरिमा राख्न सुझाव दिएका छन्।
बिहीबार बसेको सभाको बैठकमा नवनिर्वाचित सदस्यहरुलाई शुभकामना दिँदै सांसद देवेन्द्र दाहालले प्रतिपक्ष र सत्तापक्ष नभनी सभाको गरिमा उच्च राख्नुपर्ने विषयप्रति सचेत रहन आग्रह गरे।
‘गठबन्धनहरु फेरिरहन्छन्, तर यो स्थिर र स्थायी राष्ट्रिय सभा हो । यो सभाले खेल्ने भूमिका बेग्लै हुन्छ। कहिलेकाही हामी पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्छ,’ उनले भने।
सांसद गोपीबहादुर सार्की अछामीले नवनिर्वाचित सदस्यलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै सभाले स्थापित गरेका मान्यताका साथ अघि बढ्नुपर्नेमा जोड दिए।
उनले राष्ट्रियसभा समयमै चल्छ भन्ने मान्यता स्थापित भएको बताए। सांसद अछामीले सभाका सबै सदस्यले साझा सहमतिको संस्कार विकास गरेको धारणा राखे।
यस्तै, सांसद कमलादेवी पन्तले पनि राष्ट्रियसभाको गरिमा कायम राख्न सांसदहरुलाई सुझाव दिए। उनले संविधानको पूर्ण कार्यान्वयनको सन्र्दभमा आवश्यक कानुन निर्माण नभएकोप्रति पनि ध्यानार्कषण गराए।
‘स्थायी व्यवस्थापकीय अङ्गका रुपमा स्थापित सभाले निर्वाह गर्ने भूमिका कायम राख्ने गरिमा र ओजलाई गहिरो नजरमा हेरिएको छ,’ उनले भने, ‘त्यसैले पनि हामी जनताको विशेष निगरानीभित्र छौं।’
सांसद बेदुराम भुसालले पुनर्गठित मन्त्रिपरिषद्लाई मुलुकको प्रगतिको दिशामा अघि बढाउनु शुभकामना दिए। उनले मुलुकको अर्थतन्त्रमा देखिएको समस्याबारे सरकारको ध्यानार्कषण गराए।
‘सत्ता समीकरण बदलिएको छ। पटक–पटक समीकरण परिवर्तन हुँदा मुलुकले अस्थिरता भोग्नु परेको गुनासो छ,’ उनले भने, ‘पुनर्गठित मन्त्रिपरिषद्लाई मुलुकमा देखिएका चुनौतिको सामना गर्दै अघि बढ्नका लागि म शुभकामना दिन चाहन्छु।’
सांसद मोहमद खालिदले राष्ट्रियसभा सदस्यको भूमिका स्मरण गराउँदै जनसरोकारका विषयमा एकजुट र साझा मत कायम गर्नुपर्ने बताए। ‘हामी संविधानका रक्षक पनि हौँ र मुलुक र जनताको हितका लागि कानुन निर्माणसँगै सरकारको निगरानीका लागि यहाँ छौं,’ उनले भने, ‘पिछडिएका समुदाय र वर्गका लागि यस सदनमार्फत आवाज उठाउने प्रतिबद्धताका लागि आग्रह गर्दछु।’
यस्तै, नवनिर्वाचित सदस्य आनन्दप्रसाद ढुङ्गानाले सभामा आफ्नो पहिलो अनुभव सुनाउदै जनताको अपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गरे।
नवचिर्वाचित सदस्यहरु किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, घनश्याम रिजाल, झक्कुप्रसाद सुवेदी, पदमबहादुर परियार र पुजा चौधरीलगायतले सभाको गरिमा कायम राख्ने प्रतिबद्धता जनाए।












