लिङ्देन भन्छन्– ‘गठबन्धनले पर्सिनै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्’
लिङ्देनले राप्रपा गठबन्धनमा सहभागी हुन प्रयास गरेको थियो तर नलिएको भन्ने गलत अर्थ लगाइएको विषय नोटिसमा राखेको भन्दै गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् भन्दै चेतावनी दिए।
काठमाडौं, फागुन २४ : सांसद् राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चाँडै खोज्नुपर्ने दिन नआओस् भनेर चेतावनी दिएका छन्।
बिहीबार प्रतिनिधिसभालाई सम्बोधन गर्र्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनले राप्रपालाई गठबन्धनमा सहभागी हुन चाहेको भएपनि हाललाई नलिईएको भन्ने गलत अर्थ लगाइएको भन्दै आपत्ति पनि जनाए।
लिङ्देनले राप्रपा गठबन्धनमा सहभागी हुन प्रयास गरेको थियो तर नलिएको भन्ने गलत अर्थ लगाइएको विषय नोटिसमा राखेको भन्दै गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् भन्दै चेतावनी दिए।
‘कतिपय साथीहरुलाई भ्रम भयो, राप्रपा पनि यस सरकारमा सहभागी हुन इच्छुक थियो, उसले पनि प्रयास गरेको थियो भन्ने अर्थहरु पनि लगाइयो मात्र होइन, कतिपय साथीहरुले बढो उत्साहका साथ हामीले नलिने भन्नुभएको छ। हामीले नलिने भएका छौं भन्नुभयो। यसलाई राप्रपाले नोटिसमा राखेको छ,’ उनले भने, ‘फेरि पनि भन्छु नोटिसमा राखेका छौं। हामी सत्ताकेन्द्रित चलखेलमा सामेल हुँदैनौं भनेका थियौं, तपाईंको यो गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस्।’
लिङ्देनले अहिलेको व्यवस्थामा रहेको त्रुटीको डङ्गुरमाथि बसेर देश र जनताको लागि काम गर्न नसक्ने भन्दै व्यवस्था परिवर्तन गरेर अगाडि जान आवश्यक रहेको बताए।
उनले आफूहरु सत्ताकेन्द्रित चलखेलमा सामेल छैन र हुँदैन भनिसकेपछि पनि आफूहरुबारे गलत टिप्पणी गरिएको गुनासो गरे।












