एकतर्फी गठवन्धन तोडेर जनता र संविधानमाथि कुठाराघात : लेखक
‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो। जनमतको अपमान गर्दै कपोकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारी भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौं।’
काठमाडौं, फागुन २४ : नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको मूल्य मान्यताविपरीत एकतर्फी रुपमा सहमति तोडेर जनता र संविधानमाथि पनि कुठाराघात गरेको बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै लेखकले यस्तो भनाई राखेका हुन्।
‘प्रधानमन्त्री प्रचण्डले कांग्रेसप्रति मात्रै नभई जनता र संविधानमाथि पनि कुठाराघात गर्नुभयो,’ मुख्य सचेतक लेखकले भने, ‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो। जनमतको अपमान गर्दै कपोकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारी भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौं।’
प्रधानमन्त्रीको अस्वभाविक कदमले राजनीतिक अस्थिरता बढेर गएको पनि लेखकले बताए। गठबन्धनप्रति इमान्दार रहँदारहँदै छलफलविनै कपोलकल्पित बहाना बनाएर प्रधानमन्त्रीले गठबन्धन भत्काउने कार्य कांग्रेसप्रति विश्वासघात भएको ठहर रहेकोसमेत लेखकले बताए।












