गृहबाट विदा लिँदै नारायणकाजीले भने- विगतको समीकरण फलदायी भएन
उनले राजनीतिको सफाई नेपालको अहिलेको देश फेर्ने अभियानको पूर्वसर्त भएको भन्दै त्यसको सुरुवात हामीले नै गर्नपर्ने बताए।
काठमाडौं, फागुन २३ : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा निवर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय कायम गर्न नयाँ राजनीतिक समीकरण बनेको बताएका छन्। उनले भावी चुनौतीलाई सामना गर्दै नयाँ समीकरण अगाडि बढ्ने बताए।
बुधबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै विगतको समीकरण फलदायी नभएको भन्दै नयाँ समीकरणबाट जनताको चहाना पूरा गर्नुपर्ने बताए। सम्भवतः नयाँ गठबन्धन सरकारमा श्रेष्ठ परराष्ट्रमन्त्री बन्नेछन्।
‘नयाँ समीकरणको औचित्य पुष्टि गर्नको लागि सुशासन, समृद्धि र सामाजिक न्यायलाई मूल मन्त्र बनाइएको थियो। तीव्र र सकारात्मक हस्तक्षेपलाई गुणात्मक तहमा पु¥याउन खोजिएको थियो, त्यो समीकरणबाट गर्न सकिएन,’ उनले भने, ‘नयाँ समीकरणले त्यो कुरा पुष्टि गर्न सक्नुपर्ने चुनौति थपिएको छ। नेतृत्वले त्यो दिशातर्फ काम गर्न सक्नुपर्छ।’
उनले राजनीतिको सफाई नेपालको अहिलेको देश फेर्ने अभियानको पूर्वसर्त भएको भन्दै त्यसको सुरुवात हामीले नै गर्नपर्ने बताए। जनतामा निराशाको वातावरण भइरहेको र समाजमा अराजकता फैलिएको भन्दै यसलाई रोक्नको लागि सुशासन नै पहिलो सर्त भएको उनको भनाइ छ।












