मन्त्रिपरिषद् विस्तारको तयारी, साँझसम्म शपथ
मन्त्रीहरुको टुंगो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामवली आउनेक्रम रहकाले बुधबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
काठमाडौं, फागुन २३ : प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण फेरबदल गरेर एमालेसँग सत्ता सहकार्य गरेपछि बुधबार नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।
मन्त्रीहरुको टुंगो लागेको र केही दलबाट औपचारिक पत्रसहितको नामवली आउनेक्रम रहकाले बुधबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सम्भवतः आजै अपरान्ह ५ बजे मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराइने तयारी रहेको बताइएको छ। तर सरकारका तर्फबाट शपथका सम्बन्धमा राष्ट्रपति कार्यालयमा आधिकारिक पत्र पुगिनसकेको बताइएको छ।
माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्र, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, शक्तिबहादुर बस्नेत उर्जा, वर्षमान पुन अर्थ र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दैछन्।
यस्तै, नेकपा एमालेले आठ जना मन्त्रीको टुंगो लगाएको छ। मन्त्री बन्नेमा केही नयाँ बाहेक यसअघि छोटो समय मन्त्रीको जिम्मेवारी पाएभएका पुरानै अनुहार रहेका छन्।
सरकारमा रघुवीर महासेठले एमालेको नेतृत्व गर्ने छन्। उनले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने छन्। यस्तै, पदम गिरी, ज्वालाकुमारी साह, दामोदर भण्डारी, भगवती चौधरी, हरि उप्रेती, राजेन्द्र राई र दामोर भण्डारी मन्त्री बन्नेछन्। उनीहरुको मन्त्रालय भने टुंगो लागेको छैन ।
ाष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षामा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधिमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठलाई सरमारमा पठाउने छ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्रीहरुको नाम भने आउन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।












