आन्दोलनमा मृत्यु भएकालाई ५ लाख दिने कोशी सरकारको निर्णय
आज बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले राहत सहयोग दिने निर्णय गरेको हो। प्रदेशसभाले तत्कालीन प्रदेश १ को ‘कोशी’ नामकरण गरेपछि असन्तुष्ट बनेका पहिचान पक्षधरले आन्दोलन गरेका थिए।
मोरङ, फागुन २३ : कोशी प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने भएको छ।
आज बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले राहत सहयोग दिने निर्णय गरेको हो। प्रदेशसभाले तत्कालीन प्रदेश १ को ‘कोशी’ नामकरण गरेपछि असन्तुष्ट बनेका पहिचान पक्षधरले आन्दोलन गरेका थिए।
आन्दोलनका क्रममा विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच पटक पटक झडप भएको थियो। त्यस क्रममा गत वर्ष चैतमा भएको कोशी नाम खारेजीको मागसहितको आन्दोलनका क्रममा विराटनगरमा भएको प्रदर्शनमा पदम लिम्बू लाजेहाङ घाइते भएका थिए।
उपचारका क्रममा केही दिनपछि उनको मृत्यु भएको थियो । उनका परिवारलाई राहत दिने सरकारले निर्णय गरेको हो।
यसैगरी, आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ।
समितिले आन्दोलनका घाइतेको पहिचान गरेपछि उपचारलगायत विषयमा प्रक्रिया अघि बढ्ने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले बताए।