Kathmandu Press

मोरङमा किशोरीको हत्यामा संलग्न एकजना पक्राउ

मोरङमा किशोरीको हत्यामा संलग्न एकजना पक्राउ

विराटनगर, फागुन २२ः मोरङको पथरीशनिश्चरेमा भएको १५ वर्षीया ज्ञानमती थुलुङ राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो । उनलाई बेलबारीको भाउन्ने जंगल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका चौधरीले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले दाबी गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुबीच प्रेम सम्बन्ध रहेको र सम्बन्धमा खटपट आएपछि घटना भएको पाइएको प्रहरीको भनाइ छ ।

मामाको छोराको घरमा बसेर स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

हतियार प्रहारले उनको गर्धनसहित शरीरका विभिन्न भागमा गहिरो चोट पाइएको थियो । घटनाबारे अनुसन्धान गर्न स्थानीय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट टोली परिचालन गरिएको थियो ।

प्रहरीले हत्यारा  पत्ता लगाउन विशेष तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेको थियो ।

प्रकाशित मिति: १७:४२ बजे, मंगलबार, फागुन २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्