राती शाैचालय गएकी १५ वर्षे किशोरीको हत्या

विराटनगर, फागुन २१: मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्या भएको छ । प्रहरीका अनुसार उनको सोमबार राति ११ बजेतिर घरबाहिर रहेको शाैचालय जाने क्रममा धारिलो हतियार प्रहार गरि उनको हत्या भएको हो ।
पथरीशनिश्चरे नगरपालिका-७ स्थित लामा टोलमा बस्दै आएकी ज्ञानमति थुलुङ राईको हत्या भएको हो । खोटाङको अैसेलुखर्क- ६ घर भएर दुई वर्षदेखि दाजु (मामाको छोरा)को घरमा बसिरहेकी उनी पथरीस्थित पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।
घरबाहिर रहेको शाैचालय प्रयोग गर्न जाने क्रममा राति करिब ११ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर उनको हत्या गरेको प्रहरी भनाइ छ । किशोरीको गर्धनसहित शरीरका विभिन्न भागमा हतियारको चोट देखिएको र उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए ।
आक्रमणका क्रममा उनी चिच्याएपछि दाजु विनोद कोठाबाट निस्किएर घटनास्थलमा गएका थिए । उनले आफू पुगेको केही बेरमै बहिनीको मृत्यु भएको प्रहरीलाई जानकारी गराएका छन् ।
किशोरी मामाको छोरा विनोदले घरमा सञ्चालन गरेको होटलमा काम सघाउँदै, स्थानीय विद्यालयमा पढ्दै आएकी थिइन् ।
घटनामा कसको संलग्नता छ भनेर खुलीसकेको छैन प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको छ । किशोरीको हत्या प्रेम सम्बन्धका कारणले भएको हुनसक्ने पनि आँकलन छ । उनलाई ढुकेर बसेर बाहिर निस्कने बित्तिकै हतियार प्रहार गरेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।












