मन्त्रालयको भागबन्डा मिलाउन नयाँ गठबन्धनको बैठक बस्दै
कार्यदलमा नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव छन् ।
काठमाडौं, फागुन २२ : मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।
नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन सोमबार चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव छन् ।
कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ । गठबन्धन बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग छलफल गर्ने तयारी गरेका छन् ।
उनीहरूलाई समेत गठबन्धनमा सामेल गर्न सबै सकारात्मक भएका कारण छलफल गर्ने तयारी गरिएको गठबन्धनका एक नेताले जानकारी दिए । पुरानो गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई हटाई चार सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।
सोमबार एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्याल विनाविभागीय मन्त्रीको सपथ लिईसकेका छन् ।












