नयाँ गठबन्धन गर्दैमा 'मिसन-८४' छाड्दैनौं, एमालेलाई निर्णायक शक्ति बनाउनेछौं: केपी ओली

काठमाडौं, फागुन २१: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, 'मिसन ८४' बाट नेकपा एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुने दाबी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन आन्दोलनको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा बहुमत ल्याउने मात्र नभइ एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने मिसन भएकाले जस्तो सुकै अवस्थामा पनि 'मिसन ८४' नछोड्ने बताएका हुन् ।
आज देशको परिस्थिति अलि छिटो छिटो हिँड्न खोजेको बताउँदै ओलीले भने, ‘जे जति परिवर्तन भए पनि हामी 'मिसन ८४' छाड्दैनौं । एमालेलाई निर्णायक शक्तिको रुपमा विकास गर्ने उद्देश्यको साथ मिसन चौरासी भनेको हो । त्यसको मापन मात्र निर्वाचनले गर्छ ।’ एमाले निर्णायक शक्ति भएमात्र राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुने उनले बताए ।
अध्यक्ष ओलीले अहिले व्यवस्था बद्लियो अवस्था बदल्न बाँकी छ भन्ने गलत भाष्य निर्माण भएको टिप्पणी गरे ।
‘आज उल्टो हल्ला चल्ने गरेको छ । व्यवस्था बद्लियो अवस्था बदल्न बाँकी छ भन्ने यो नै गलत भाष्य हो,' उनले भने, ‘मजदुरको अवस्था यस्तै थियो उहिले नेपालमा मजदुर आन्दोलन सुरु हुँदा अवस्था त्यस्तै थियो ? सामाजिक सुरक्षा, सम्मानित र सुरक्षित रोजगार लगायतमा के मजदुर वर्गले लाभ पाए ।’
समाजको उल्लेखनीय हिस्सा गरिबीको रेखामुनि भएको भन्दै यस्तो स्थितिलाई तोड्नका लागि जिफन्टले चालेको कदम उत्कृष्ट रहेको उनको भनाई छ ।












