चितवनमा बालिका मृत्युबारे गम्भीर छानबिन गर्न समितिको निर्देशन
यही फागुन १२ गते रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेल उक्त विद्यालयको छात्राबासमा मृत अवस्थामा फेला परेककी थिइन्।
काठमाडौं, फागुन २० : प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो।समितिका सभापति भानुभक्त जोशीले बालिका मृत्युबारे सरकारले गृहमन्त्रालयमार्फत छानबिन गरिरहेको जानकारी आएको भन्दै अझै गम्भीर रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिने निर्णय भएको बताए।
यही फागुन १२ गते रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा शालिन पोखरेल उक्त विद्यालयको छात्राबासमा मृतअवस्थामा फेला परेककी थिइन्। बैठकले को मृत्युबारे हत्या, आत्महत्या वा दुरुत्सान के हो रु सो बारे अध्ययन तथा विश्लेषण गरी तथ्य प्रमाणका आधारमा दोषी उपर कारबाहीको प्रक्रियाबारे समितिलाई जानकारी गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ।बैठकमा सांसदहरुले चितवनमा बालिका मृत्यु भएको घटना लामो समय बितिसक्दा पनि सत्यतथ्य छानबिन नभएको भन्दै सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।
उनीहरुले घटनाको चाँडो छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र भविष्यमा यस्ता किसिमका घटना हुन नदिन दीर्घकालीन उपाय अपनाउन, विद्यालय र छात्राबासको सुरक्षा तथा गुणस्तरका लागि नीतिगत सुधार गर्न पनि आग्रह गरे।
बैठकमा आ–आफ्नो धारणा राख्नेमा सांसदहरु देवेन्द्र पौडेल, बद्रीप्रसाद पाण्डे, विद्या भट्टराई, तोसिमा कार्की, विनिता कुमारी सिंह, दिपा शर्मा, इश्वरी घर्ती, डा कलुराम राई, रामप्रकाश चौधरी र उर्मिला थेवे हुनुहुन्थ्यो।
समितिको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल प्रारम्भ भएको छ । उक्त विधेयकमाथि संशोधन राख्ने सांसदको न्यून उपस्थितिले आज पूर्ण छलफल हुन सकेन।
संशोधनकर्ता अमरबहादुर थापाले शिक्षालाई गुणस्तरीय बनाएर मुलुकको विकाससँग जोडिनुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यालय शिक्षादेखि विश्वविद्यालयसम्मको शिक्षालाई गुणस्तरीय, समयसापेक्ष र रोजगारमैत्री बनाइनुपर्ने खाँचो औँल्याए।
एकसय ६३ दफा रहेको उक्त विधेयकमा एक हजार सात सय ५८ संशोधन परेको समितिले जनाएको छ।
शिक्षा विधेयकमाथि छलफल
समितिले विद्यालय तथा छात्राबासलाई बालमैत्री, भयमुक्त र गुणस्तरयुक्त बनाउन, विद्यालय र छात्राबासको निगरानी, नियमन र अनुगमन गर्न, भइरहेका अवस्थाबारे मन्त्रालयले अद्यावधिक गर्न निर्देशन दिएको छ।
विद्यालय शिक्षा विधेयकलाई कसरी चाँडो टुङ्ग्याउनेभन्नेबारे पनि छलफल गरिने सभापति जोशीले जानकारी दिए।












