भूपू ब्रिटिस गोर्खा सैनिकको मागबारेकाे वार्ता यथाशीघ्र निष्कर्षमा पुर्याउन निर्देशन
समितिले यस सम्बन्धमा यसअघि दिइएका निर्देशनहरु यथाशीघ्र कार्यान्वयन गरि समितिलाई जानकारी गराउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ।
काठमाडाैं, फागुन २० : प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको मागका बिषयमा हुने वार्तालाई यथाशीघ्र निष्कर्षमा पुराउन सरकारलाई निर्देशन दिएको छ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले बिगत लामो समयदेखि उठाएका न्याय र समानताका मागहरु सम्बोधनका लागि बेलायती र नेपाली पक्ष संलग्न भइ गठन भएका द्विपक्षीय र प्राविधिक समितिमार्फत हुने वार्ताहरुलाई यथाशीघ्र निष्कर्षमा पुराउन आवश्यक पहल गर्न परराष्ट्रमन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले यस सम्बन्धमा यसअघि दिइएका निर्देशनहरु यथाशीघ्र कार्यान्वयन गरि समितिलाई जानकारी गराउन पनि मन्त्रालयलाई निर्देशन दिएको छ। बैठकमा बैठकमा परराष्ट्र मन्त्री एनपी साउँदले बेलायती र नेपाली पक्ष संलग्न भइ गठन भएका समितिमार्फत ब्रिटिस गोर्खा सैनिकको मागमा गम्भीर छलफल भएको जानकारी दिए। न्यायोचित माग सम्बोधनका लागि नेपालले निरन्तर दबाब दिइरहेको भन्दै उहाले समान पेन्सनका बिषयमा निष्कर्ष आउन बाँकी रहेको बताए।
बैठकमा ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके नेपालका पदाधिकारीहरुले बेलायती त्रिपक्षीय सम्झौता अनुसार भर्ना भएका ब्रिटिस गोर्खालाई विभेद गरेको, आधारभूत मानवअधिकार हनन गरेको बताएका थिए। उनीहरुले आफूहरूमाथि अन्याय भएको भन्दै सरकारले न्याय दिनुपर्ने जिकिर गरे।
बैठकमा समिति सदस्यहरुले लामो समयदेखि भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुले राखेका मागलाइ पुरा गर्न सरकारले गम्भीर भएर छलफल गर्नुपर्नेमा जोड दिएका थिए।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
