Kathmandu Press

सरकार र दुग्ध किसानबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित 

कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध किसानसँग शनिबार साँझ वाता र सहमति भएको जनाइएको छ।
सरकार र दुग्ध किसानबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित 

काठमाडौं, फागुन २० : सरकार र केन्द्रीय दुग्ध सहकारी संघबीच पाँच बुँदे सहमति भएपछि किसानहरु तत्कालका लागि आन्दोलनबाट पछि हटेका छन्। 

कृषि तथा पशुपक्षी विकासमन्त्री बेदुराम भुसालको उपस्थितिमा दुग्ध किसानसँग शनिबार साँझ वाता र सहमति भएको जनाइएको छ। सहमतिअनुसार दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्ने, उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गरिने भनिएको छ। 

Hardik ivf

यस्तै, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी संघले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति समेत भएको छ। 

छलफल र सहमतीमा कृषि मन्त्री भुसालसँगै डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र पूर्वअध्यक्ष सुमित केडिया, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल तथा पूर्वअध्यक्ष अरनिको राजभण्डारी र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारी संलग्न रहेको जनाइएको छ।

केन्द्रीय दुग्ध सहकारी संघले दूधको भुक्तानी रोकिएको विरोधमा गत फागुन ८ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ। किसानले बिक्री गरेको दूधको ६ अर्ब रुपैयाँभन्दा बढी बक्यौता नपाएको गुनासो पोख्दै आएका छन्। 

प्रकाशित मिति: १२:४५ बजे, आइतबार, फागुन २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्