गठबन्धन सरकार पुरा समय टिक्छ : सभापति देउवा
‘अहिले गठबन्धनको सरकार छ। यसको निरन्तरता कायम रहनेछ।’
काठमाडौं, फागुन १८ : सत्ताको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकार पुरा समय टिक्ने बताएका छन्।
‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार भरतपुर पुगेका सभापति देउवाले उक्त भनाई राखेका हुन्। देउवाले उक्त भनाई राखिरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल पनि कार्यक्रममा सँगै थिए। मन्तव्यकाक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘अहिले गठबन्धनको सरकार छ। यसको निरन्तरता कायम रहनेछ।’
उक्त कार्यक्रममा देउवाले भरतपुर देशकै प्रमुख पर्यटकीय केन्द्र भएको पनि बताए। विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुन्जले अन्तर्रष्ट्रियस्तरमा पहिचान बनाउन सकेको पनि बताए।
यस्तै, अर्थतन्त्रमा प्रतिकूल प्रभाव परिरहेको समयमा पर्यटनको विकासले सकारात्मक भूमिका खेल्ने भनाई पनि उनले राखे। देउवाले कार्यक्रममा जानुअघि भरतपर विमानास्थलमा पत्रकारसँग कुरा गर्दै सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका थिए। फरक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्ने कुरा सामान्य रहेको बताउँदै गठवन्धन सरकारले निरन्तरता पाउने प्रश्ट पारेका हुन्।












