वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगद्वारा कार्यक्रम तय
उपनिर्वाचन कार्यक्रम अनुसार आगामी चैत २४ गते बिहान १० देखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने आयोगले विज्ञप्तिमार्फत जनाएको छ।
काठमाडौं, फागुन १८ : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुन गइरहेको उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ।
उपनिर्वाचन कार्यक्रम अनुसार आगामी चैत २४ गते बिहान १० देखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने आयोगले विज्ञप्तिमार्फत जनाएको छ। त्यसै दिन दिन बेलुका ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।
यस्तै,उम्मेदवारको विरोधमा चैत २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने छ। चैत २६ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी ६ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यक्रम तय गरिएको छ।
चैत २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने समय तोकिएको छ। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ। आगामी वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।
आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्थाबारे पनि स्पष्ट गरेको छ।












