नेपालको अर्थतन्त्र कोभिडले गर्दा नभई सरकारको ध्यान नभएर कमजोर भएको हाे : ओली
ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सक्ने अवस्था नरहेको बताए।---frame-at-1m45s-1707123950.jpg)
काठमाडौं, फागुन १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको अर्थतन्त्र कोभिडले गर्दा नभई सरकारको ध्यान नभएर कमजोर भएको बताएका छन्।
शुक्रबार नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘देशको अर्थतन्त्र कोभिडपछिको अवस्था कोभिडभन्दा पनि महाकोभिड जुन छ त्यो भ्याक्सिनले हट्नेवाला छैन। कोभिडले अर्थतन्त्र ओरालो लाग्या होइन। कोभिडबाट सबै देशहरु बाहिर निस्किसकेका छन्, हामी भने पोहोर कोभिड भएको हुनाले टाउको दुखेको भनेर बस्छौं । अहिले अर्थतन्त्र कमजोर हुनुपर्ने अवस्था छैन तर ध्यान त्यता तर्फ जानुपर्यो।’
ओलीले प्रधानमन्त्रीसँग आफ्नो भेट भइरहने बताउँदै कुने समस्या भए आफूलाई सुनाउन आग्रह गरे। उनले भने, ‘तपाईंहरुले सरकारलाई भन्नु पर्ने कुरा मलाई भन्दा पनि हुन्छ किनभने प्रधानमन्त्रीसँग मेरो भेट भईरहन्छ । मैले भनेको प्रधानमन्त्रीज्यूले खानु पनि हुन्छ खानु पनि पर्छ ।’
ओलीले नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सक्ने अवस्था नरहेको बताए।
‘नेपालमा अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सक्ने अवस्था छैन। यहाँ त संसदमा पनि नभएको, पार्टी पनि नभएको, एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँड्छ,’ उनले भने, ‘आफ्नो तर्फबाट तपाईहरुको समस्या समाधान गर्न तपाईंहरुको साथमा छु भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । सरकारमा हुदाँ होस् या नहुदाँ। संविधानमा त्यस्तो कुनै व्यवस्था छैन।’












