सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको तजबिजमा चलेकाे गगन थापाको आरोप
सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग चल्ने छुट्टै कानूनी प्रावधान भएपनि कार्यकारीको इच्छा अनुसार चल्ने गरेको आशंका रहेको भनाई उनको थियो।
काठमाडौं, फागुन १८ : सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको तजबिजमा चलेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा थापाले बिहीबार उक्त आरोप लगाएका हुन् ।
सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग चल्ने छुट्टै कानूनी प्रावधान भएपनि कार्यकारीको इच्छा अनुसार चल्ने गरेको आशंका रहेको भनाई उनको थियो।
राजनीतिक दलको प्रतिष्पर्धामा पनि यी दुई निकाय प्रयोग भएको प्रमाण आफूसँग रहेको दाबसिमेत थापाले गरे । यस्तै, राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा अप्ठ्यारो भएको विषयमा जानकारी पनि माग गरे ।
उनले कार्यकारी शक्ति हुनेहरुले सम्पती शुद्धीकरण र राजस्व अनुसन्धान विभागलाई हतियार बनाउने गरेको आरोप समेत लगाए। बेनामी उजुरीको आधारमा जो कसैलाई दुःख दिने माध्यमको रुपमा काम गरेको दाबी उनको छ।
‘यी दुई निकायहरु प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने कारण कानूनी रुपमा चल्ने भन्दा पनि कार्यकारी शक्ति हुनेहरुले हतियार बनाउछन् भन्ने आरोप छ,’ समितिको बैठकमा थापाले भने, ‘राजनीतिक दलको प्रतिस्पर्धामा पनि सम्पती शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएका उदाहरणहरु र प्रमाण छन्। बजारका हल्ला मात्रै हुन भन्ने सक्ने अवस्था छैन । सम्पत्ति शुद्धीकरण बेनामी उजुरीको आधारमा कसैलाई परिसानी गर्ने माध्यमको रुपमा काम गरेको बुझिन्छ। मुद्दा हेर्ने विषयमा मोलमोलाई हुन्छ भन्ने सुनिन्छ।’












