स्वास्थ्य क्षेत्रमा पहिले भन्दा फरक ढंगबाट बजेट विनियोजन हुन्छ : प्रधानमन्त्री
चितवनको भरतपुरमा निर्माण भएको बाल आखारोग बहिरंग विभाग तथा अत्याधुनिक शल्यक्रिया भबनको उद्घाटनपछि प्रचण्डले यस्तो बताएका हुन्।
चितवन, फागुन १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निति तथा बजेट कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई पहिले भन्दा फरक ढंगबाट बजेट विनियोजन गर्ने बताएका छन्।
चितवनको भरतपुरमा निर्माण भएको बाल आखारोग बहिरंग विभाग तथा अत्याधुनिक शल्यक्रिया भबनको उद्घाटनपछि प्रचण्डले यस्तो बताएका हुन्। उनले स्वास्थ्य क्षेत्रमा यसपटक अधिकतम बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि जनाए।
उनले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताए। संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको जनाउँदै उनले यी सबै प्रयासले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने विश्वास व्यक्त गरे।
उनले सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनीयतामा समेत बढोत्तरी हुँदै गएको बताए।
त्यस्तै बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्वास्थ्य क्षेत्रमा आबश्यक बजेट बिनियोजन हुन नसक्दा जनता सोचे अनुसारको सेवा दिन नसकेको बताए।
अस्पतालको नवनिर्मित भवनको भवन निर्माण समितिका संयोजक एवं नेपाल नेत्रज्योति सङ्घ चितवनका पूर्वसभापति चिजकुमार मास्केले रु १३ करोड ५० लाखमा भवन निर्माण गरिएको बताए।












